८ मंसिर २०८१, शनिबार

बाँकेको भवानीयापुरमा निर्माणाधीन अत्याधुनिक सभा गृहको ९९ प्रतिशत काम सम्पन्न

थिएटरमा जस्तै चेञ्जिङ रुम, रिहर्सल, प्रशासनिक हल लगायतको व्यवस्था

  • न्युज मानसराेवर

बाँके:बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा निर्माणाधीन अत्याधुनिक सभा गृहको ९९ प्रतिशत काम सम्पन्न भएको छ ।सहरी विकास मन्त्रालयको बजेटमा नगर भवन निर्माण भइरहेको सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय बाँकेका निमित्त प्रमुख राम कृष्ण आचार्यले बताए ।

सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय बाँकेका इन्जिनियर विवेक नेपालले भने,“अत्याधुनिक सुविधा सम्पन्न सभा गृहको निर्माण अन्तिम चरणमा छ । ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ भने सरसफाइको काम भइरहेकाले सम्भवतः तिहार पछि यो हस्तान्तरणको प्रक्रिया थालिने छ ।”

२९ करोड ४५ लाख ५५ हजार नौ सय ५१ रुपैयाँको लागतमा लामा कन्स्ट्रक्सनले निर्माण गरिरहेको सो बहुउपयोगी सभाको डिजाइन परिवर्तन गर्दा बजेट बढेर रु ३२ करोड पुगेको छ । उक्त आयोजना निर्माणका लागि निर्माण कम्पनीले २०७८ साल साउन २५ गते काम सम्पन्न गर्ने गरी २०७५ माघ २५ मा सम्झौता गरे पनि पैसा निकासा नहुँदा समयमा काम सम्पन्न हुन नसकेको निर्माण कम्पनीले जनाएको छ ।

निर्माणाधीन अत्याधुनिक सभा गृहको नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य दिपा शर्मा, एमालेका केन्द्रिय सदस्य पशुपति दयाल मिश्र लगायतको टोलीले अनुगमन गरेका छ । नेपालगञ्जले ठुलो पूर्वाधार प्राप्त गरेको भन्दै सांसद शर्माले सञ्चालन कसरी गर्ने भन्ने विषयमा चिन्ता व्यक्त गर्न नहुने बताइन् । उनले यो पूर्वाधारलाई पुर्णरुपमा उपयोग गर्ने दायित्व नेपालगञ्जवासीको भएको उल्लेख गरिन् । शर्माले सक्दो छिटो निर्माण गरेर भवनलाई हस्तान्तरण गर्न निर्माण कम्पनीलाई आग्रह गरिन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्रले सभा गृहको निर्माण अन्तिम चरणमा छ तर केही थप बजेट पनि आवश्यक देखिएको छ, त्यसका लागि सम्बन्धित मन्त्रालयसँग पहल भई रहेको बताउँदै मिश्रले सभा गृह नेपालगञ्जका लागि गौरबको योजना भएकोले यसलाई सञ्चालनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले जिम्मा लिनु पर्ने धारणा राखे । सभागृहमा ८ सय सिट क्षमता छ । फिल्म हलमा जस्तै बाल्कोनी पनि बन्दैछ ।

अण्डरग्राउण्डमा २५ वटा चार पाङ्ग्रे र ६० वटा दुई पाङ्ग्रे सवारी अट्ने पार्किङको व्यवस्था गरिएको छ । पहिलो र दोस्रो तलामा एक–एक वटा र दोस्रो तलामा दुई वटा साना हल पनि बनाइएको छ । थिएटरमा जस्तै चेञ्जिङ रुम, रिहर्सल, प्रशासनिक हल लगायतको व्यवस्था छ । बाँकेका तत्कालीन सांसद मोहम्मद इस्तियाक राई सहरी विकास मन्त्री हुँदा ‘नेपालगञ्ज सभा गृह’का लागि बजेट विनियोजन गरेका थिए ।

 

  • १८ आश्विन २०८१, शुक्रबार प्रकाशित

  • Nabintech