नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिकास्थित राप्ती नदीमा बनाइने ‘बैकुण्ठधाम सिधनियाघाट’ का लागि आर्थिक सहयोग जुटाउन महोत्सव गरिँदैछ । आगामी कार्तिक २२ गतेदेखि ३० गतेसम्म आयोजना हुने महोत्सबको पूर्व तयारीमा मूल समारोह समिति लागिपरेको छ ।
समितिले आज विहान नेपालगञ्जमा ‘पत्रकार भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम’ गरेर महोत्सबलाई सफल बनाउने कार्यमा सहकार्य गर्न सबैलाई आग्रह गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले आध्यात्मिक महोत्सवलाई सबै बाँकेबासी मिलेर सफल पार्नुपर्ने बताए । उनले महोत्सवप्रति सबैले अपनत्व लिनुपर्ने आवश्यकतामाथि जोड दिए । वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले बैकुण्ठधाम आध्यात्मिक महोत्सवलाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिए ।
मूल समितिका संयोजक डा. सुरेश कुमार कनोडियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह-संयोजक भोला महत, सामाजिक अगुवा अजित कुमार शर्मा, महिला अगुवा ऋचा द्विवेदीले बोलेका थिए । कार्यक्रमको सञ्चालन श्रीराम सिग्देलले गरेका थिए ।