नेपालगञ्ज : सडकमा छाडा छोडिएका पशुचौपायाको बिगबिगीले दुर्घटनाको जोखिम बढाएपछि नेपालगञ्ज उपमहानगरपालिकाले प्रत्येक शनिबार सडकमा छाडा छोडिएका पशुचौपायालाई कान्जीहाउस पुर्याउने गरेको छ ।
शनिवारको दिन नगरका विभिन्न सडकमा छरिएर रहेका पशुचौपायालाई एकत्रित गरेर नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ विर्तास्थित कान्जीहाउस पुर्याउने गरिएको हो । नगर प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरीको संयुक्त टोलीले छाडा पशुचौपायालाई कान्जीहाउस पुर्याउने गरेको छ । यो शनिवार पनि ५८ वटा पशुचौपायालाई कान्जीहाउस लगिएको नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटीले जानकारी दिए । बोगटीका अनुसार गाई तथा बाच्छा बाच्छी ३४, १५ वटा घोडा र ९ वटा बाख्रालाई कान्जीहाउस पुर्याइएको छ ।
घरधनीले आफ्नो पशुहरु सडकमै छोडिदिने र खुला सीमा नाकाका कारण पनि नेपालगञ्जका सडकमा छाडा पशुचौपायाको संख्या उल्लेख्य हुने गरेको छ । छाडा पशुका कारण साना ठूला दुर्घटना भइरहेका हुन्छन् । कतिले ज्यानै गुमाउनुपरेको अवस्था छ भने कति घाइते हुने गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आ–आफ्ना पशुचौपाया घरमै बाँध्न आग्रह गर्दै आएका छन् । तर, छाडा छोड्ने प्रबृत्ति रोकिएको छैन । नगर प्रमुख विष्टले नगरबासी सबैले यसमा गम्भीरता देखाउनुपर्ने बताए । “छाडा पशुरहित सडक बनाउन सबैको सहयोग आवश्यक छ,“ उनले भने ।