बाँके:स्वदेशी स्याउ बजारमा आएपछि भारत र चीन दुवै ठाउँबाट आउने स्याउको बिक्री यहाँ बन्द भएको छ । कर्णाली प्रदेशका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको अर्गानिक स्याउ ठुलो मात्रामा स्थानीय बजारमा आएपछि भारत र चीनबाट आयात गरिने स्याउको बिक्री बन्द भएको हो ।
भारत र चीनबाट भित्रिएका महँगो स्याउले बजार ओगटेको समयमै कर्णाली प्रदेशबाट ल्याइएको स्याउ कोहलपुर र नेपालगन्जमा सस्तोमा पाउन थालेपछि अन्य स्याउको बिक्री बन्द भएको छ । चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगन्जमा अहिले कर्णालीको स्याउले जताततै बजार पाएको छ ।
भारतीय स्याउ प्रतिकिलो १५० देखि २५० रुपियाँ र चीनको स्याउ प्रतिकिलो १६० रुपियाँभन्दा बढीमा बिक्री भइरहेको बेला कर्णालीको अर्गानिक स्याउ बाँकेमा प्रतिकिलो ९० देखि १२० रुपियाँसम्ममा पाइन थालेपछि अरू स्याउको बिक्री बन्द भएको व्यवसायीले जनाएका छन् ।
कर्णालीको जुम्ला र कालीकोटबाट ठुलो परिमाणमा स्याउ नेपालगन्ज ल्याएर बिक्री सुरु गरिएकाले अन्य स्थानबाट ल्याइएका स्याउ बिक्री हुन छाडेको स्थानीय व्यवसायी रमजान कबडियाले बताउनुभयो ।
उहाँका अनुसार अहिले जताततै कर्णालीकै स्याउ बिक्री भइरहेको छ । भारतीय स्याउ महँगो र चीनको स्याउ त्यति स्वादिलो नभएकाले कर्णालीको स्याउको माग अत्यधिक बढेको छ ।
यसै गरी फलफूलका अर्का थोक विक्रेता शमशेर मियाँले अहिले बजारमा जताततै कर्णालीकै स्याउको माग उच्च रहेकाले अरू स्याउको बिक्री बन्द भएको जनाउनुभयो । उहाँले सीमापारिबाट आउने भारतीयले समेत कर्णालीको स्याउ किनेर लग्ने गरेको बताउनुभयो ।
बाँकेको कोहलपुरस्थित कृषि उपज केन्द्रमा पनि अहिले ठुलो परिमाणमा कर्णालीको स्याउ बिक्री भइरहेको छ । सो केन्द्रका अनुसार जुम्लाबाट व्यापारीले कर्णालीका स्याउ कोहलपुर र नेपालगन्ज पठाउने गरेको र त्यसको व्यापार कोहलपुर र नेपालगन्जमा निकै फस्टाएको छ ।
कर्णालीको स्याउ बजारमा आएपछि अरू सबै स्याउ हराएको स्थानीयले जनाएका छन् । नेपालगन्जमा मात्र नभई भारतको रुपैडिहा, नानपारा र बहराइचसम्म पनि कर्णालीका स्याउ बिक्री भइरहेको पाइएको छ ।
कर्णालीको स्याउ मिठो र सस्तो दुवै हुने हुँदा भारतमा पनि अत्यधिक रुचाइएको भारत रुपैडिहाका फलफूल व्यवसायी असगर राईले बताउनुभयो । उहाँका अनुसार कर्णालीबाट यो सिजनमा हालसम्म छ सय टन स्याउ आएको छ । यहाँ दैनिक भारतीय र चाइनिज स्याउ १० टन बिक्री हुन्छ ।