राप्तीसोनारी ,बाँके : दिउँसोको चर्को घाममा बाँकेको राप्तीसोनारी गाउँपालिका ६ ढलैयाका रामप्रसाद थारु र उनको परिवार राप्ती नदीको बालुवामा सुन खोज्दै थिए । राप्ती नदीको बगरमा खाल्डो खनेर निस्केको पानीमा परिवारका सदस्यसँगै उनी पनि सुन खोज्न ब्यस्त देखिन्थे । सात जना मध्ये कोहि बालुवा चाल्दै थिए । कोहि बगरमा पानी निस्किने गरि गहिरो खाल्डो खन्दै थिए ।
उनको परिवार विगत दुई हप्तादेखि बाढीले फालेको बगरमा खाल्डो खनेर सुन खोज्दै आएका छन् । सिमलको काठबाट डुँर बनाएर उनीहरुले सुन खोज्छन् । बालुवामा रहेको सुन चाल्न उनले काठको करौँती बनाएका छन् । यहि करौँतीमा बालुवा राखेर पानी हालेपछि बालुवा बग्छ र सुनको कण करौँतीमा थिग्रिन्छ ।
बालुवामा फेला परेको सुनलाई उनले पगालेर एकत्रित गर्छन् । सुन पगाल्ने सीप पनि उनले सिकेका छन् । राप्ती नदीको बालुवामा फेला परेको कण–कण सुनलाई आगोमा पगालेर नेपालगन्जका सुन ब्यापारीसँग विक्रि गर्दै आएका छन् । चार महिला र तीन जना पुरुषले हरेक दिन पाँच घण्टा बालुवामा सुन खोज्छन् । बालुवामा सुन खोजेर उनीहरुको हात–खुट्टा बालुवाले खाएको छ ।
रामप्रसाद र उनको परिवार विगत १५ वर्षदेखि राप्ती नदीको बगरमा सुन चाल्दै आएका छन् । उनले बर्दियाका सोनाहाहरुसँग सुन चाल्ने सीप सिकेका हुन् । राप्ती नदीको सवै बगरमा सुन नपाइने भएकोले पहिले सुन पाइने ठाउँको पहिचान गर्छन् । काठबाट बनाइएको करौँतीले पहिले सुन भएको ठाउँ पत्ता लगाउने गरेको उनी बताउँछन् ।