कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका–१ कौशिलानगर मा यस वर्षको दसैँलाई थप उल्लासमय बनाउन र परम्परागत संस्कृतिको पुनरूत्थान गर्न लिङ्गेपिङ बनाइएको छ। स्थानियले दसैँका अवसरमा समुदायका लागि यो विशेष पिङ निर्माण गरेका हुन्। दसैँको प्रमुख आकर्षणमध्ये लिङ्गेपिङ एक प्रमुख सांस्कृतिक प्रतीक हो।
वानियाभार चोक, दश विगाह मन्दिर, चप्परगौरी लगाएत कोहलपुरका ठाउ ठाउमा लिङ्गेपिङ निर्माण गरिएसंगै बालबालिका, युवादेखि ज्येष्ठ नागरिकसम्मलाई सामूहिक रूपमा मनोरञ्जन दिने मात्रै नभइ संस्कृतिसँगको सामिप्यता र हाम्रो परम्परागत धरोहरप्रति गर्व गर्न प्रेरित गर्ने उद्देश्यले स्थानियहरुले पिङ हालेको बताउँछन्।
‘लिङ्गेपिङ नेपाली पर्व संस्कृति र समाजको अभिन्न अङ्ग हो । दसैँका बेला यसको विशेष महत्व रहन्छ । पिङमा झुल्दा आउने आनन्दको अनुभूति मात्र होइन, पिङले व्यक्तिहरूलाई सांस्कृतिक र आध्यात्मिक अर्थ पनि दिन्छ । यो पर्वको समयमा बनाइने पिङले दसैँलाई मात्र होइन, तिहार र अन्य पर्वलाई पनि जीवन्त बनाउने गरेको छ,’ एक स्थानिय भन्छन । नयाँ पुस्तालाई परम्परागत खेलको महत्व बुझाउन तथा स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न पिङ हालिएको स्थानियहरुको दावि रहेको छ ।
‘ लिङ्गेपिङ निर्माण गरेर दसैँको मौलिकता र सौन्दर्यलाई जोगाउने प्रयास गरेको छ । यसले स्थानीय समुदायलाई सङ्गठित गर्ने र मनोरञ्जन प्रदान गर्न पनि सघाउ पुरयाउने अपेक्षा गरेका छौँ । परम्परागत संस्कृतिको स्मरणका लागि हरेक वर्ष स्थानियहरुले स्वतस्फुर्त रुपमा यस्तो गर्दै आएको छ,’ स्थानिय लाल वहादुर बुढाले भने।
सूचना प्रविधिको विकाससँगै आममानिसहरू आधुनिक खेल, टेक्नोलोजी र सहरीकरणको प्रभावमा चुर्लुम्म छन्। यसकै प्रभावले होला गाउँघरमा समेत परम्परागत पिङ निर्माणको चलन कम हुँदै गएको छ भने सहरी क्षेत्रमा त झन् यस्ता पिङ देख्न पाउनु दुर्लभ बन्दै गएको छ। स्थानीय बुढाका अनुसार आधुनिक जीवनशैली र व्यस्तताले नयाँ पुस्ता आफ्नो परम्परागत खेलप्रति कम आकर्षित हुँदै गइरहेको बताउँछन्।
‘लिङ्गेपिङको रौनक र मज्जाले दसैँलाई अझ विशेष बनाउँछ । दसैँको बेला लिङ्गेपिङमा झुल्न पाउँदा मानिसले आफ्ना बाल्यकालका याद ताजा गर्छन् । वर्षभरि छुटिएकाहरू एकैठाउँमा जम्मा भएर आनन्द लिन्छन्, सामिप्यता बढाउँछन् । पिङले समुदायमा आपसी प्रेम, सद्भाव र सहयोगको भावना फैलाउँछ,’ उनले भने।
लिङ्गेपिङले दसैँको मौलिकता झल्काउने मात्र होइन, परिवार र समाजलाई एकजुट बनाउने अवसर पनि प्रदान गर्छ तर पछिल्लो समय यो परम्परा विस्तारै हराउँदै गएको उनको भनाइ छ। स्थानियहरुको सक्रियतामा पिङ निर्माण गरेर दसैँलाई अझै उल्लासमय बनाउने प्रयास गरेको खेम शर्मा बताए । समाजमा रहेका पुराना संस्कार, परम्परा र खेलको जगेर्ना तथा स्थानीय खेलको प्रवर्द्धन गर्नु मुख्य उद्देश्य रहेको शर्माको भनाई रहेको छ।