काठमाडौँ :आजदेखि सञ्चालनमा आउने भनिएको बीपी राजमार्ग फेरि अवरुद्ध भएको छ। बीपी राजमार्गमा पर्ने रोशी गाउँपालिका ११ पिप्लेमा सुख्खा पहिरो खस्दा फेरि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। सडकमा सवारी साधन गुडिरहेको अवस्थामा एक्कसी माथिबाट आएको सुख्खा पहिरोले दुईवटा सवारी साधनलाईमसेत पुगेको छ।
सिन्धुलीटबाट काठमाडौँ तर्फ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई पहिरोले रोशी खोलामा खसालेको छ भने खोटाङबाट काठमाण्डौँतर्फ आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमोलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति भने नभएको प्रहरीको भनाई छ।
बिहीबार बिहान करिब तीन बजे पहिरो खसेको हो। पहिरोले बसलाई सडकबाट झण्डै २० मिटर तल खसालेको छ। त्यसैगरी पहिरोले पुरेको सुमोको भने पछाडिको भाग मात्रै देखिएको छ।
‘बीपी राजमार्ग अन्तर्गतकै नमोबुद्ध तेमाल हुँदै मंगलटार जाने कच्ची सडक खण्ड र रोशी गाउँपालिका ११ पिप्लेस्थित बीपी राजमार्गमा पुनः सुख्खा पहिरो झरिरहेकोले तत्कालको लागि दुईतर्फी नै सडक अवरुद्ध रहेकाले यात्रा नगर्न अनुरोध छ,’ जिल्ला प्रहरी कार्यालय काभ्रेले केही बेरअघि जारी गरेको सूचनामा भनिएको छ।
विगत दुई सातादेखि अवरुद्ध बीपी राजमार्गमा आजदेखि पूर्णरुपमा सवारी साधन सञ्चालनमा आउने भनिएको थियो। बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध रहेको यो सडक सामान्य मर्मतपछि शुक्रबार बिहानदेखि सञ्चालनमा ल्याउने तयारी भइरहँदा पुनः पहिरो खसेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुक्रबार बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने जानकारी दिएका थिए। बिहीबार सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिएका थिए।
काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो दूरीको बीपी राजमार्ग यही असोज ११ र १२ गतेको बाढीपहिरोले अवरुद्ध भएको थियो। बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पुगेको छ।
सडक, पुल र कल्भर्टहरु बगेको ठाउँमा अस्थायी संरचना निर्माण गरेर बीपी राजमार्गमा गाडी चलाउने तयारी गरिएको अवस्थामा पुन पहिरो खसेको हो। नेपालीहरुको मुख्य पर्व दसैँअघि बीपी राजमार्ग बन्द हुँदा यात्रुले निकै सास्ती पाउँदै आएका छन्।
यो राजमार्ग अन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका-६ र रोसी गाउँपालिका ७ सीमास्थल चौकीडाँडामा रोसी खोलाको बाढीले दुई सय मिटर सडक बगाएको स्थानमा डाइभर्सन सडक निर्माण गरिएको छ।