१० मंसिर २०८१, सोमबार

बजार सुनसान, धम्बोझी क्षेत्रमा तरकारी किनमेल गर्ने उपभोक्ताको भीड
  • न्युज मानसराेवर

नेपालगञ्ज:दसैँको आगमनसँगै नेपालगञ्ज बजार सुनसान भए पनि धम्बोझी चोक क्षेत्रमा तरकारी किनमेल गर्ने उपभोक्ताको भीडमा कमी आएको छैन । बाँके र बर्दियाको ग्रामीण क्षेत्रका थारु महिलाले उत्पादन गरेका तरकारीले नेपालगञ्जवासीलाई लोभ्याएको छ ।

यहाँ ग्रामीण क्षेत्रका थारु महिलाले गाउँमा उत्पादन गरेका तरकारी प्रत्येक दिन बिहानपख नेपालगञ्जको धम्बोझी चोक क्षेत्रमा ल्याएर बिक्री गर्ने गरेका छन् । यसपाली दसैँमा गाउँको तरकारी सहरमै उपलब्ध गराएको बर्दिया राजापुरकी श्यामकली थारुले बताईन । “आजसम्म त बिक्री गरिरहेका छौँ, धेरैजनाले भोलिलाई पुग्नेगरी तरकारी किनेर लैजानुभएको छ”, आज बिहान तरकारी बिक्री गरिरहेको अवस्थामा भेटिएकी उनले भनिन, “भोलि दसैँको दिन आउँदैन त्यसपछि फेरि आइहाल्छौ।”

नेपालगञ्ज–२ निवासी सुनीलसिंह हमालले आफ्नो भान्सामा एक वर्षदेखि गाउँमा उत्पादित तरकारी पाक्ने गरेको बताए । गाउँमा मेहनत गरेर उत्पादन गरेको तरकारी दसैँको बेलामा पनि नेपालगञ्ज पुर्याउनु आर्थिक मात्रै नभइ सेवाभावसमेत भएको उनको भनाइ छ ।

गाउँको तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारु महिला आफैँले उत्पादन गरेर बजारमा पुरयाउन थालेका छन् । तरकारीको माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले आफ्नै खेतबारीमा उत्पादित तरकारीबाट प्रशस्त कमाइसमेत गर्न सफल भएको बर्दिया बढैयाताल गाउँपालिका–३ का महिला वडासदस्य दुसानी थारुले बताईन । उनले बर्दियाबाट नेपालगञ्ज दैनिक तरकारी ल्याएर बिक्री गर्दै आएको बताउदै भनिन “म विगत १० वर्षदेखि कृषि पेसामा आबद्ध छु, पहिला अर्गानिक तरकारी साइकलमा राखेर नेपालगञ्जका चोकचोकमा पुरयाउनुपथ्र्यो”,, “अहिले धेरै दिदीबहिनी धम्बोझीमा जम्मा भएर बिक्री गर्ने गरेका छौँ ।”

नेपालगञ्जमा गाउँबाट ल्याएको तरकारी तत्काल बिक्री भई राम्रो आम्दानी हुन थालेपछि तरकारी उत्पादनतर्फ अधिकांश थारु महिला आकर्षित भइरहेका दुसानीको भनाइ छ । उनले विभिन्न किसिमका तरकारी बिक्री गरेर मासिक रु १५ देखि २० हजारसम्म आम्दानी गरिरहेको सुनाईन । बाँकेको नौबस्तामा घरवरिपरि तरकारीखेती गरिरहेकी वसन्ती थारूको तरकारी बिक्रीबाटै परिवारको जीविकोपार्जन भइरहेको छ । गाउँको तरकारी बजारमा सहजै बिक्री हुने गरेकाले टाढा भए पनि यहाँ आउने गरेको उनको भनाई छ ।

  • २५ आश्विन २०८१, शुक्रबार प्रकाशित

  • Nabintech