२ कार्तिक २०८१, शुक्रबार

दसैंको समयमा जमुनाह नाकावाट ४५ नेपालीको उद्धार

नेपालगन्जको जमुनाह नाका भएर बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, प्युठानलगायतका जिल्लाबाट जोखिमपूर्ण यात्रामा नेपाली

  • न्युज मानसराेवर

बाँके:बाँकेको नेपालगन्जस्थित नेपाल र भारत सिमानाका जमुनाहबाट दसैँको समयमा जोखिमपूर्ण यात्रामा रहेका ४५ जना नेपाली नागरिकको उद्धार गरिएको छ । माइती नेपाल नेपालगन्ज कार्यालयका संयोजक केशव कोइरालाले जोखिमपूर्ण यात्रा गर्दै भारततर्फ जाँदै गरेको अवस्थामा तीन जना बालक, १७ जना १८ वर्ष मुनिका बालिका र २५ जना १८ वर्ष माथिका महिला गरी असोज महिनामा ४५ जना नेपाली नागरिकको जमुनाहबाट उद्धार गरिएको बताए ।

“असोज महिनामा हामीले जमुनाह नाकाबाट तीन जना बालक १७ जना १८ वर्ष मुनिका बालिका र २५ जना १८ वर्षमाथिका महिलालाई उद्धार गरेका छौं, उनीहरु जोखिमपूर्ण यात्रा गर्दै भारततर्फ जाँदै थिए” संयोजक कोइरालाले भने, “उद्धार गरेका सबैलाई हाम्रो सेल्टरमा राख्यौं, काउन्सिलिङ गरेका छौं र उनीहरुका अभिभावकलाई बोलाएर अभिभावकलाई समेत काउन्सिलिङ गरी जिम्मा लगाएर पारिवारिक मिलान गराइदियौं ।”

असोज महिनामा खोजतलास तथा उद्धार गर्न कार्यालयमा ४९ वटा निवेदन प्राप्त भएको संयोजक कोइरालाले जानकारी दिए । उनका अनुसार खोजतलास तथा उद्धारका लागि १२ जना बालिका, पाँच जना बालक र ३२ जना १८ वर्षमाथिका महिला गरी ४९ जनाको निवेदन प्राप्त भएको छ ।

४९ जनामध्ये आठ जनालाई फेला पारेर सम्बन्धित अभिभावकलाई बुझाइएको संयोजक कोइरालाले बताए। “असोज महिनामा खोजतलास तथा उद्धारका लागि ४९ वटा निवेदन प्राप्त भएको थियो, जसमध्ये पाँच जना बालिका, एक जना बालक र दुई जना महिलालाई उद्धार गरेर सम्बन्धित अभिभावकलाई जिम्मा लगाएका छौं” कोइरालाले भने ।

दसैँको घटस्थापनादेखि असोज ३० गतेसम्म मात्र जमुनाह नाकाबाट १० जनाको उद्धार गरेको उनले जानकारी दिदै भने । “दसैँको घटस्थापनादेखि असोज ३० गते सम्ममा मात्र नाकाबाट ६ जना १८ वर्षमुनिका बालिका र चार जना १८ वर्षमाथिका महिला गरी १० जनाको उद्धार गरेका छौं” कोइरालाले अगाडि थपे ।

सोही समय अवधिमा १८ वर्ष मुनिका बालिका ६ जना, बालक एक जना र १८ वर्षमाथिका महिला १० जना गरी १७ जना नागरिकको खोजतालस तथा उद्धार गरिदिन भनि निवेदन प्राप्त भएको संयोजक कोइरालाले जानकारी दिए।

नेपालगन्जको जमुनाह नाका भएर बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, प्युठानलगायतका जिल्लाबाट जोखिमपूर्ण यात्रामा नेपाली नागरिकहरु भारततर्फ जाने गरेको तथ्याङ्क रहेको माइती नेपाल नेपालगन्ज कार्यालयले जनाएको छ ।

  • २ कार्तिक २०८१, शुक्रबार प्रकाशित

  • Nabintech