६ कार्तिक २०८१, मंगलवार

४६ हजार बढी बालबालिकालाई बाँकेमा भिटामिन ‘ए’ र जुकाको औषधी
  • न्युज मानसराेवर

 नेपालगन्ज: राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत शुक्रबारबाट बाँकेसहित देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । त्यसक्रममा ४६ हजार बढी बालबालिकालाई बाँकेमा लक्षित गरेर अभियान अगाडी बढाइएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए ।

जिल्लामा भिटामिन ‘ए’ खाने ६ देखि ५९ महिना उमेरसम्मका ४६ हजार ४८० जना बालबालिकाहरुलाई शनिबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने जानकारी दिंदै श्रेष्ठले पहिलो दिन उल्लेख्य सेवा प्रवाह भएको बताए । ‘तथ्यांक शनिवारपछि मात्रै यकिन भन्न सकिन्छ,’ सूचना अधिकारी श्रेष्ठले  भने, ‘एकदेखि पाँच वर्षसम्मका ४१ हजार १९६ जना बालबालिकालाई जुकाको औषधी खुवाउन पनि सुरु गरिएको छ ।’

एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधी मात्र खुवाइने जानकारी दिंदै सूचना अधिकारी श्रेष्ठले छुटेकाहरुलाई स्वास्थ्य स्वयंसेविका परिचालन गरि सेवा प्रवाह गरिने बताए । स्वास्थ्य कार्यालय अनुसार, बाँके जिल्लाका आठ वटा पालिकामध्ये सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकामा १२ हजार १५ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइदैछ भने १० हजार ६२१ जना बालबालिकालाई जुकाको औषधी खुवाइँदैछ ।

सबैभन्दा कम जानकी गाउँपालिकाका चार हजार १३ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल र तीन हजार ५४८ बालबालिकालाई जुकाको औषधि खुवाइदैछ । भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन जिल्लाभर ७८५ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको स्वास्थय कार्यालयले जनाएको छ । जसमध्ये नेपालगन्ज उपमहानगरपालिकामा १९६, कोहलपुर नगरपालिका ७१, राप्ती सोनारी गाउँपालिकामा ११०, खजुरा गाउँपालिकामा १०८, जानकी गाउँपालिकामा ८१, नरैनापुर गाउँपालिकामा ६८ जना स्वयंसेविका परिचालन गरिएका छन् ।

यसैगरी डुडुवा गाउँपालिकामा ५९ र बैजनाथ गाउँपालिकामा ९२ जना स्वयंसेविका परिचालन गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । उनले विशेषगरि मुस्लिम र मधेशी बाहुल्य पालिका र क्षेत्रहरुमा निकै कम संख्यामा भिटामिन ए र जुकाको औषधी खुवाइने गरिएकोले ती क्षेत्रहरुमा बिशेष ध्यान दिइएको पनि बताए ।

  • ३ कार्तिक २०८१, शनिबार प्रकाशित

  • Nabintech