नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका पश्चिम नेपालको प्रमुख सहरमध्येको एक हो । यो लुम्बिनी प्रदेशको बाँके जिल्लामा पर्छ । नेपालगञ्ज विसं २०१७ मा नगर पञ्चायत, २०१९ सालमा नगरपालिका र २०७१ सालमा उपमहानगरपालिका घोषणा भएको हो । १७ वटा वडा रहेको नेपालगञ्ज नगरपालिकालाई २०७१ मङ्सिर १६ गते आसपासका साबिकका १० वटा गाउँ विकास समिति गाभेर २७ वटा वडासहित उपमहानगरपालिका घोषणा गरिएको हो । २०७३ फागुन २७ गते पुरैनी गाविसलाई थप गरी २३ वडा कायम गरिएको छ । यो उपमहानगरपालिकाको कुल क्षेत्रफल ८५.९४ वर्ग किलोमिटर रहेको छ ।
तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको शासनकालमा सुब्बा पद्यनाभ जोशीको नेतृत्वमा नेपालगन्ज बजार विस्तार भएको थियो । हुन त त्यसभन्दा अगाडि बाइसेचौबिसे राज्यकालमा पनि यो सहरकै रूपमा रहेको बताइन्छ । त्यति बेला केही घर भएको सानो सहर थियो । चारकोसे घना जङ्गलका कारण लामुखट्टेको टोकाइबाट औलो लाग्थ्यो । धेरैपछिसम्म पनि यस सहरमा औलोको समस्या थियो ।
नेपालगञ्जको निर्माण सँगसँगै घरबारीटोल, गगनगञ्ज, त्रिभुवन चोक, एकलैनी आदि व्यापारिक केन्द्र निर्माण भयो । २०७८ सालको जनगणना अनुसार उपमहानगरपालिकाको कुल जनसङ्ख्या एक लाख ६४ हजार ४४४ रहेको छ । जसमा पुरुष ८२ हजार ७५५ र महिलाको सङ्ख्या ८१ हजार ६८९ रहेको छ । नेपालगञ्जमा ३४ हजार ५६५ घरधुरी रहेको छ ।
यहाँ अवधी, नेपाली, थारू, मगर, नेवारी, गुरुङ, लामा, भोटे, शेर्पालगायत मातृभाषी छन् । जाति, धर्म र भाषाका दृष्टिकोणले साझा सहरका रूपमा लिने गरिएको छ । नेपालगन्जलाई धार्मिक सद्भावको सहरका रूपमा पनि चिनिन्छ । यहाँ हिन्दु, मुस्लिम, सिख, इसाई, बुद्ध धर्मावलम्बीहरूको बसोबास रहेको छ । जातीय र धार्मिक रूपमा आइपर्ने विवाद समाधानका लागि विभिन्न धर्मगुरुको संयुक्त समिति गठन गरिएको छ ।
भारतसँग जोडिएको सहर भएकाले भारतीय परिकारको लोकप्रियता नेपालगन्जमा पनि प्रवेश गरिसकेको छ । बिरयानी, रावडी, चाट, हलुवा पराठा जस्ता परिकारले नेपालगञ्जको चिनारी खानेकुराले पनि थपिएको छ ।
बागेश्वरी मन्दिर प्रमुख धार्मिकस्थलका रूपमा रहेको छ । यो मन्दिर निकै पुरानो हो र यहाँ भगवान् शिवकी पत्नी सतीदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ । जुङ्गेमहादेवको मूर्ति नेपालगञ्जमा मात्र छ । तलाउको बिचमा जुङ्गेमहादेवको मन्दिर रहेको छ । अहिले यो मन्दिर पुनर्निर्माण भइरहेको छ । यहाँ हरेक सोमबार आरती गर्न थालिएको छ । यसै गरी हनुमानगढी, इदगाह, जामे मस्जिद, गुरुद्वारा, चर्च र गुम्बा पनि यहाँका धार्मिकस्थलका रूपमा रहेका छन् । नेपालगञ्जमा अहिले पनि सल्यानी बङ्गला र दैलेखी बङ्गला अस्तित्वमा छन् । मानिसहरू पहाडी जिल्लाबाट स्थानीय उत्पादन बिक्रीका लागि यहाँ आउने, केही दिन बस्ने र यहाँबाट नुनलगायत अन्य आवश्यक सामग्री लैजाने परम्पराको जीवन्त साक्षीको रूपमा अहिले पनि यी बङ्गला छन् ।
नेपालगञ्जको धम्बोझीस्थित वाटरपार्क ताल, पुरैनीस्थित कान्ति ताल, बजारको रानी तलाउ, महेन्द्र पार्क यहाँका प्रमुख पर्यटकीय क्षेत्र हो । नेपालकै अत्यधिक गर्मी हुने सहरका रूपमा परिचित नेपालगञ्ज विमानस्थल नेपालकै अति व्यस्तमध्ये पर्दछ ।