बाँके:बाँकेको राप्ती सोनारी गाउँपालिका–६ बाट करिब ४ लाख रुपियाँसहित २० जना जुवाडेहरू पक्राउ परेका छन् । राप्ती सोनारी गाउँपालिका–६ स्थित सञ्जय रानाको घरमा जुवा खेली रहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुल बहादुर कार्की नेतृत्वको टिमले छापा मार्दा जुवा खालबाट नगद ३ लाख ९१ हजार रुपियाँ सहित २० जना जुवाडेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
तिहार नजिकिएसँगै बाँकेमा जुवातास खेल्नेहरू सक्रिय हुन थालेपछि प्रहरी पनि सक्रिय भएर सो रोक्न लागि परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी कार्कीले बताउनुभयो । उहाँले जिल्लामा जुवा हुने सम्भावित स्थान र खेलाउने व्यक्तिहरू बारे प्रहरीले धेरै सूचना सङ्कलन गरिसकेको जनाउँदै यस पटक जुवातास निमन्त्रण अभियानलाई कडा पारिएको बताउनुभयो ।
यसअघि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय नेपालगन्जको संयुक्त टोलीले जयसपुरबाट १५ जना जुवाडे पक्राउ गरेको थियो । हरेक वर्ष तिहारको समयमा जिल्लामा जुवातासका घटना बढ्ने भएकाले प्रहरीले निगरानी बढाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी कार्कीले ठाउँ–ठाउँमा सुराकी प्रहरी परिचालन गरेर निगरानी गरिरहेको बताउनुभयो।
उहाँका अनुसार जुवातासका कारण धेरै परिवार समस्यामा पर्ने गरेकोले कानुनले वर्जित गरेका यस्ता गतिविधि नियन्त्रणका लागि प्रहरी चनाखो रहेको छ ।
दसैँ, तिहार, छठ लगायतका चाडपर्वमा मानिसहरूको ठाउँठाउँमा जमघट हुने र यही मौकामा जुवातास समेत खेल्ने गरेको पाइएपछि प्रहरीले सम्भावित क्षेत्रको पहिचान नै गरेर निगरानी बढाएको छ । दसैँ र तिहारलाई लक्षित गरेर तयार गरिएको सुरक्षा योजना अनुसार प्रहरीले सबै सुरक्षा निकायसँग समन्वय गरेर सुरक्षा व्यवस्था गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।