बाँके\स्थानीय तहमा मंसिर १६ गते हुने उपनिर्वाचनमा लुम्बिनीमा रिक्त रहेका ६ पदमा तीन ठूला दलबीच प्रतिस्पर्धा हुने देखिएकाे छ । रिक्त ६ पदमा यसअघिको निर्वाचनमा नेपाली कांग्रेसबाट ४ जना र माओवादीबाट २ जना निर्वाचित भएका थिए ।
एमालेले ६ मध्ये कुनै पदमा जितेको थिएन । अहिले पुरानो अवस्था केही फेरिएको छ । ०७९ को निर्वाचनमा कांग्रेस–माओवादीसहित ५ दलको अधिकांश स्थानमा गठबन्धन रहेको थियो तर अहिले केन्द्र र प्रदेशमा एमाले–कांग्रेसको गठबन्धन रहेको छ । त्यो कारणले पनि तीनै दलले यी स्थानमा आफ्नो वर्चश्व राख्न चाहन्छन् ।
माओवादीले रुकुमपूर्वको पुथाउत्तर गंगा गाउँपालिका उपाध्यक्ष र सोही पालिकाको वडा नं २ को अध्यक्ष जितेको ठाउँ हो । अहिले त्यो स्थान माओवादीबाट खोस्नका लागि एमाले कांग्रेस गठबन्धन गरेरै जाने तयारी गरेका छन् । यद्यपि भागवण्डा नमिलेकोले अझै टुंगो लागेको छैन ।
कांग्रेस एमाले नमिले यहाँ माओवादीले नै जित्ने निश्चित रहेको बुझाई स्थानीय नेताहरुको छ । उनीहरु दुवै दल मिलेपनि माओवादीले केन्द्रको संयन्त्रअनुसार विप्लव नेतृत्वको नेकपा माओवादी र नेकपाएस र जसपासँग साथ लिने तयारीमा छ ।
सो क्षेत्रमा विप्लव नेतृत्वको पार्टीका केही सुरक्षित मत रहेको आंकलन माओवादी केन्द्रको रहेको छ । माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बराल एमाले कांग्रेस मिलेपनि अन्य दलको साथ लिएर आफूहरुले जितेको स्थान सुरक्षित गर्ने रणनीतिमा लागेको बताउँछन् ।
एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल ६ मध्ये कम्तीमा ३ स्थानमा आफूले जित्नेगरी लागेको बताउँछन् । ०७९ र अहिलेको अवस्था धेरै फेरिएको बताउँदै उनले यसले पार्टीको जनाधारलाई पनि विश्लेषण गर्ने भएकाले सोहीअनुसार योजना बनाएको जनाए ।
यसैगरी संसदको चौथो ठूलो दलले पनि स्थानीय तहको उपनिर्वाचनमा आफ्नो मत सुरक्षित बनाउने रणनीतिमा लागेको छ । पार्टी केन्द्रले लुम्बिनीमा कुसुम महर्जनलाई उपनिर्वाचनको कमाण्डर तोकेर पठाएको छ । कांग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश रानाका अनुसार पार्टीले यसअघि जितेका ४ स्थानमा यथावत राख्ने र केही थप गर्नेगरी योजना बनाइएको बताए ।
कहाँ कहाँ हुँदैछ निर्वाचन ? कस्तो थियो ०७९ को मत परिणाम ?
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको निधनपछि यहाँ उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा यो गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका भुपेन्द्रा बुढा ४ हजार ५९ मत पाएर निर्वाचित भएकी थिइन् ।
उनका निकटम प्रतिस्पर्धी कांग्रेसका कमला कुमारी मल्लले २ हजार १० मत र एमालेका धर्म घर्ती बुढाले १ हजार ८१२ मत पाएका थिए । अहिले यहाँ तीनै दलले आफ्नो अस्तित्वका लागि हेरिरहेका छन् ।
सोही गाउँपालिकाको वडा नम्बर २ का वडाध्यक्षको मृत्युपछि उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा माओवादी केन्द्रका जसबहादुर श्रीपाली २३४ मत पाएर यो वडाको वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत पाएका थिए ।
गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर १ मा वडाध्यक्ष मोहन घिमिरेको निधनका कारण यहाँ उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित घिमिरेले १ हजार १८२ मत पाएका थिए । उनका प्रतिस्पर्धी एमालेका नारायण बहादुर थापाले १ हजार १४३ मत ल्याएका थिए ।