कोहलपुर:कोहलपुर–नेपालगन्ज सडक खण्डको कोहलपुर नगरपालिका–१० रामनगरस्थित बीच सडक (ग्रिन बेल्ट) मा हुर्किएका बिरुवा काट्ने व्यक्ति पक्राउ परेका छन् । डेढ महिनापछि कोहलपुर नगरपालिकाले अभद्र व्यवहारमा मुद्दा दिएपछि बिरुवा काट्ने रामनगरकै लक्ष्मीप्रसाद भुसाललाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारीका अनुसार नगरपालिकाले उजुरी दिएपछि बिरुवा काट्ने आरोपितलाई पक्राउ गरिएको हो। उहाँका अनुसार भुसाललाई मंगलबार पक्राउ गरिएको हो।
‘नगरपालिकाले उजुरी दिएपछि हामीले पक्राउ गरेर अदालतबाट बुधबार म्याद थप गरिसकेका छौँ’ उहाँले भन्नुभयो, ‘हिरासतमा राखेर अभद्र व्यवहारमा मुद्दामा अनुसन्धान भइरहेको छ ।’ कोहलपुर नगरपालिका–१० रामनगरमा गत भदौ २४ गते नगरपालिकाले रोपेका बिरुवा राति एकाएक काटिएको थियो । आराले धमाधम काटेर ५ वटा समीका बिरुवा ढलाइएका थिए । बिरुवा काटिएको खबर पाएपछि राति नै इलाका प्रहरी कार्यालय, कोहलपुर नगर प्रहरी र जनप्रतिनिधिसहितको टोली घटनास्थलमा पुगेर घटनाको अवलोकन गरेका थिए ।
घटनाको अध्ययन अवलोकनपश्चात रामनगरकै एक स्थानीय लक्ष्मीप्रसाद भुसालले ती बिरुवा काटेको पत्ता लागेको थियो । भुसालले बिरुवा काट्दै गरेको सिसिटिभी फुटेजसमेत प्रहरीले फेला पारेको थियो । बिरुवा काट्ने व्यक्तिलाई तत्काल पक्राउ गरेर कारबाही गर्न कोहलपुर नगर प्रहरीले इलाका प्रहरी कार्यालयमा उजुरी दिएको दियो । तर सोबेला प्रहरीले अर्को शीर्षकमा उजुरी ल्याउन भन्दै सो उजुरी फिर्ता पठाएको थियो ।
बीच सडकमा रहेका बिरुवामा बाँधेको गाईको दाम्लो नगर प्रहरीले काटेर गाई छाडिदिएको झोँकमा राति भुसालले बीच सडकमा हुर्किसकेका ५ वटा बिरुवा आराले धमाधम काटिदिएका थिए । उनको यो क्रियाकलाप नजिकै जडान गरिएको सिसी क्यामेरामा कैद भएको भेटिएको थियो । भुसाल हाफ पाईन्ट र चप्पल मात्र लगाएर हातमा आरा समातेर सडकमा पुगेको सिसिटिभी फुटेजमा देखिन्छ ।