५ बैशाख २०८२, शुक्रबार

एक पालिका एक हुलाक नीति: बाँकेका सबै पालिकामा हुलाक कार्यालय स्थापना

विगतमा इलाका र अतिरिक्त कार्यालयका रूपमा रहेका हुलाक कार्यालयलाई अब स्थानीय तह अन्तर्गत

  • न्युज मानसराेवर

बाँके: नेपाल सरकारको एक पालिका एक हुलाक नीति अनुसार सबै बाँकेका सबै पालिकामा हुलाक कार्यालय स्थापना भएका छन् । डुडुवाको कम्दी, नरैनापुरको नरैनापुर, राप्तीसोनारीको अगैया र बैजनाथको बनकटुवामा हुलाक कार्यालय स्थापना गरिएको जिल्ला हुलाक कार्यालयका प्रमुख गोविन्दप्रसाद पाण्डेले जानकारी दिए ।

जानकीको मानपुर र खजुराको खजुरामा यसअघि नै हुलाक कार्यालय स्थापना भइसकेको छ । कोहलपुरमा इलाका हुलाक कार्यालय छ । नेपालगन्जमा भने जिल्ला हुलाक कार्यालयले हेर्नेछ । पालिकास्तरीय हुलाक कार्यालयमा खरदारको कमाण्डमा कर्मचारी परिचालन गरिएको पाण्डेले बताए ।

विगतमा इलाका र अतिरिक्त कार्यालयका रूपमा रहेका हुलाक कार्यालयलाई अब स्थानीय तह अन्तर्गत सञ्चालन गरिएको उनले बताए । बाँकेमा ११ इलाका र ३५ अतिरिक्त हुलाक कार्यालय रहेका थिए । बाँके जिल्ला हुलाक कार्यालयले लुम्बिनी प्रदेशका बर्दिया तथा कर्णाली प्रदेशका सबै जिल्लाको हुलाक स्टेशनरी र डाँक व्यवस्थापन गर्दै आएको छ ।

रेडियो नवीकरण सूचना विभागबाट प्रवाह हुने सेवा पनि हुलाक कार्यालयबाट प्रदान हुन थालेको छ ।  एफ.एम. रेडियो तथा केवलको नवीकरण तथा अनुगमन, पत्रपत्रिकाको लोककल्याणकारी विज्ञापनको भुक्तानी, प्रेसपास नवीकरण लगायत सेवा प्रवाह पनि सोही कार्यालयबाट भइरहेको छ । हुलाक चिठी पत्र लगायत दस्ताबेज सम्बन्धित व्यक्ति वा संस्थासम्म पुरयाउने विश्वसनीय माध्यम भएकाले सूचना प्रविधिको वर्तमान युगमा पनि यसको महत्व रहेको छ ।

  • २६ कार्तिक २०८१, सोमबार प्रकाशित

  • Nabintech