६ बैशाख २०८२, शनिबार

बाँकेमा आलु उम्रिन नपाउँदै नष्ट,किसान मर्कामा

पकेट एरियामा आलु उम्रिन नपाउँदै नष्ट भएकाले यसपाली सिजनमा नेपालगञ्जमै भारतीय आलु खानुपर्ने अवस्था

  • न्युज मानसराेवर

बाँके:बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियालाई तरकारीको पकेट क्षेत्र मानिन्छ । तरकारीमा पनि आलु धेरै उत्पादन हुने ठाउँ हो हिरमिनिया । हिरमिनियाको भंघोटना, चौधरीपूर्वा, कालाबन्जार, बल्दीपूर्वा, महन्तपूर्वा, मुन्सीपूर्वा, पटवारीपूर्वाका अधिकांश किसानले आलु खेती गर्छन् ।

धान काटेलगत्तै किसानले आलु लगाउन सुरु गर्छन् । यसपाली पनि किसानले तिहारलगत्तै आलु लगाउन सुरु गरे । तर, कात्तिक १८ गते साँझ ठूलो पानी पर्यो । त्यो वर्षाले किसानले लगाएको आलु उम्रिन नपाउँदै कुहिएको छ ।

कमलाप्रसाद कुम्हारले एक विगाहमा आलु लगाएको तीन दिन भएको थियो । पाँच हजार रुपैयाँ प्रतिक्वीन्टलका दरले १६ क्वीन्टल बीउ किनेर लगाएको आलु तीन दिनसम्म पानीमा डुबिरह्यो । बोरिङ लगाएर जमेको पानी त बाहिर निकाले तर आलुको टुसा निस्किएन । आलुको बीउ नै कुहिएर नष्ट भएको छ ।

हरेक सिजनमा आलुबाट दुई लाख रुपैयाँ बचत गर्ने कमलाप्रसादको यसपाली बीउ, मल, जोताइ गर्दा एक लाख खर्च भएको छ । बेमौसमी वर्षाले बचत त परै जाओस्, साँवा नै डुबेको छ । कमलाप्रसाद भन्छन्, ‘हामीले आलु लगाउँदा मौसम राम्रो थियो । तीन दिनपछि एकाएक ठूलो पानी पर्यो, त्यो पानीले हाम्रो बिचल्ली नै बनाएको छ ।’

जयपाल मौर्यले दुई विगाहमा आलु लगाएका छन् । थप दुई विगाहमा लगाउन भ्याइसकेका थिएनन् । मौर्यले पहिला नै ड्याङ बनाएर लगाएकाले अलिअलि आलु उम्रिने आशा छ । एक कठ्ठामा १० क्वीन्टलसम्म आलु फल्छ । राम्ररी फल्दा एक कठ्ठामा लगाएको आलुबाट मात्रै २० हजार बचत हुने मौर्यको भनाइ छ । मौर्य भंघोटनाका धेरै आलु लगाउने किसानमा पर्छन् ।

स्थानीय ओमप्रकाश मौर्यले दिउँसो एक कठ्ठामा आलु लगाएका थि, साँझ पानी पर्यो। ओमप्रकाश भन्छन्, ‘उही दिन पानी परेकाले आलु उम्रिने आशा छैन ।’ किसानले आलु लगाएको बारीमा कतैकतै अझै पानी जमेको छ । केहीले भइहाल्छ कि भनेर बोरिङ लगाएर पानी फालेका छन् । किसानले सुरुमा सम्ममा आलु लगाउने र पछि उम्रिएपछि ड्याङ लगाउने गर्दछन् । केहीले शुरुमै ड्याङ लगाउँछन् । पकेट एरियामा आलु उम्रिन नपाउँदै नष्ट भएकाले यसपाली सिजनमा नेपालगञ्जमै भारतीय आलु खानुपर्ने अवस्था देखिएको छ ।

डुडुवा वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्रले बेमौसमी पानीले किसानलाई ठूलो मर्कामा पारेको बताए । ‘किसानले लगाएको धान र आलु नष्ट नै भएको छ,’ वडाध्यक्ष मिश्रले थपे, ‘धानको लगत निकाल्न शुरु गरेका छौँ । आलुको पनि लगत निकालेर क्षतिपूर्तिका लागि पालिका, प्रदेश र संघीय सरकारसँग माग गर्छौँ ।’

कात्तिकमा परेको पानीले किसानलाई ठूलो समस्यामा पार्ने गरेको छ । केही वर्षअघि पनि कात्तिकमा पानी परेर किसानलाई ठूलो मर्कामा पारेको थियो । त्यतिबेला सरकारले लगत लिएर किसानलाई थोरै भए पनि सहयोग गरेको थियो । आलु उम्रिन नपाउँदै नष्ट भएपछि मर्कामा परेका किसानले सरकारको मुख ताकेका छन् । जयपाल मौर्यले महँगोमा बिउ किनेर रोपेका किसानले ठूलो क्षति ब्यहोर्नु परेकाले सरकारले केही राहत उपलब्ध गराउनु पर्ने माग गरे ।

  • २६ कार्तिक २०८१, सोमबार प्रकाशित

  • Nabintech