कोहलपुर,बाँके:कोहलपुर शवदाहस्थल निर्माणका लागि सहयोग जुटनेक्रम जारि रहेको वताईएको छ आज कोहलपुरमा सम्वद्ध सरोकारवालाहरुले सहयोगको प्रतिवद्धता जनाएसंगै निर्माण कार्यकालागि सहयोग जुटन लागेको हो । कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख वीरेन्द्र कुमार शाहको अध्यक्षतामा सोमवार कोहलपुरमा भएको अन्तरक्रिया कार्यक्रममा सम्बद्ध सरोकारवालाहरुले सामाजिक उत्तरदायित्व वहन गर्दै सहयोग गर्न तत्परता देखाएको बताए ।
केएल दुगडका प्रवन्ध निर्देशक वरिष्ठ उद्योगी प्रदीप छाछेडले सामाजिक तथा मानवीय सेवाका निमित्त गरिने काममा आफ्नो तर्फबाट हुन सक्ने सहयोगका लागि तयार रहेको बताए । उनले सामाजिक कार्यमा केएल दुगडले सहयोग गर्दै आएको समेत स्मरण गराए । कोहलपुर मेडिकल कलेजका जनसम्पर्क अधिकृत रामकृष्ण हमालले पनि कोहलपुरमा शवदाहस्थल आवश्यक रहेकाले सहयोगको प्रतिबद्धता जनाए । उनले त्यसका निमित्त वोर्ड समितिमा कुरा राखेर मेडिकल कलेजबाट हुन सक्ने सहयोग गरिने विश्वास दिलाए ।
शवदाहस्थल व्यवस्थापन समितिका संयोजक समेत रहेका कार्यबाहक नगर प्रमुख शाहले सबैको सहयोग र समन्वयबाट शबदाहस्थल निर्माणको काम प्रारम्भ भएकाले आफ्नो सामाजिक उत्तरदायित्वबाट सहयोग गर्न आग्रह गरे । उनले कोहलपुर नगरपालिकाका नागरिकहरुका लागि सरल, सहज तथा कम खर्चिलोमा शवदहन गर्नका लागि कोहलपुर नगरपालिका वडा नं.११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा शवदाहस्थल निर्माणको काम सुरु गरिएको जानकारी दिए ।
वातावरण प्रभावलाई समेत मूल्यांकन दावि गर्दै कोहलपुरमा अत्याधुनिक शवदाहस्थल बनाउन लागिएकाले सबैको सहयोग आवश्यक रहेको शाहले बताए । उनले शवदाहस्थलबाट कुनैपनि वातावरणीय तथा स्वास्थ्यसँग सम्वन्धीत असर नपर्ने गरी विज्ञहरुको सुझावकै आधारमा कोहलपुर शवदाहस्थल निर्माण सुरु गरिएको उनको भनाइ छ ।
यस्तै शवदाहस्थल निर्माण समितिका संयोजक चक्र अधिकारीले शवदाहस्थल निर्माणका लागि अहिलेसम्म ७० लाख रुपैयाँ सहयोग प्राप्त भएको जानकारी दिए । उनले एभरेष्ट बैंकले ५० लाख र ग्लोवस बैंकबाट २० लाख रुपैयाँ प्राप्त भएको र अन्य सामाजिक संघसंस्थाबाट पनि सहयोगको प्रतिबद्धता आइरहेको बताए ।
करिव १ करोड १७ लाखको लागत स्टिमेटमा निर्माणको काम भइरहेको छ । अहिले भौतिक संरचना निर्माणको काम भइरहेको पनि अधिकारीले बताए । कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं.५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, वडा नं.९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगी, निमित्त प्रशासकीय अधिकृत युवराज अधिकारी, नगर प्रहरी प्रमुख वीरबहादुर थापा, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु, उद्योगीहरु लगायतको सहभागिता सहयोग सम्वन्धि कार्यक्रम सम्पन्न भएको वताईएको छ ।