६ मंसिर २०८१, बिहीबार

नेपालले कुवेतलाई एक सय ६५ रनले हरायो
  • न्युज मानसराेवर

काठमाडौँ: कप्तान पूजा महतोको कीर्तिमानी शतकसँगै अलराउन्डर प्रदर्शनमा नेपालले युएईमा जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेलमा नेपालले कुवेतलाई एक सय ६५ रनले हराएको छ ।

युएईको अजमानमा मङ्गलबार भएको पाँचौं खेलमा जितका लगि नेपालले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा सबै विकेटको क्षतिमा ४८ रनमा समेटिएको थियो ।

कुवेतका लागि कप्तान जिफा जिलानीले ४२ बलमा ३६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कुवेतका आठ खेलाडी शून्य रनमा आउट भएका थिए ।

बलिङमा अलरान्डर प्रदर्शन गर्नुभएकी नेपालकी कप्तान पूजाले पाँच विकेट लिनुभयो । उहाँले चार ओभरमा आठ रन खर्चिएर पाँच विकेट लिनुभएको हो । रचना चौधरी र सिमाना केसीले दुई दुई विकेट झार्नुभयो  ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा दुई सय १३ रनको विशाल योगफल तयार गरेको थियो । नेपालका लागि पूजाले प्रतियोगिताकै पहिलो ऐतिहासिक शतक प्रहार गर्नुभयो ।

उहाँले ६९ बलमा १७ चौकाको सहयोगमा अविजित एक सय ३० रन बनाउनुभएको हो । यस प्रतियोगिताको दोस्रो संस्करण जारी रहँदा पूजाको पहिलो शतक हो । यस्तै सोनी पाख्रिनले ४३ रन बनाउनुभयो । उहाँले ३३ बलमा दुई चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

सावित्री धामीले ११ र साना प्रविनले ६ रन जोड्नुभयो । बलिङमा कुवेतकी कप्तान जिफा जिलानी र मारिना डि सोजाले एक एक विकेट लिनुभयो । नेपालले अब अन्तिम खेल कात्तिक २८ गते युएईसॅंग खेल्नेछ । छनोट खेलको शीर्ष टोली अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा छनोट हुनेछ ।

  • २७ कार्तिक २०८१, मंगलवार प्रकाशित

  • Nabintech