२९ कार्तिक २०८१, बिहीबार

बाँकेको चिसापानीमा फल्यो कोदो

नार्कका प्राविधिकको सिफारिस अनुसार तराईका जिल्लाहरुमा किसानलाई कोदो रोप्न प्रेरित गरिने

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: पहाडी र हिमाली जिल्लामा मात्र उत्पादन हुँदै आएको कोदो बाली तराईको गर्मी मानिने बाँके जिल्लामा पनि उत्पादन गर्न सफल परीक्षण गरिएको छ। सामुदायिक जिन बैङ्क सञ्जाल बाँकेले बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर १ चिसापानीस्थित गाभर भ्यालीमा कोदोको सफल परीक्षण उत्पादन गरेको हो ।

गत साउन महिनामा रोपिएको कोदो अहिले चिसापानीस्थित गाभर भ्यालीमा लहलह झुलेको छ । पहाड र हिमालमा मात्रै उत्पादन हुने कोदो तराईको गर्मी जिल्लामा पनि फलेको देख्दा स्थानीयले समेत अनौठो मानेका छन् ।

“पहाड र हिमालमा मात्रै उत्पादन हुने कोदो तराईका जिल्लामा उत्पादन गर्ने लक्ष्यका साथ परीक्षण गर्नका लागि हामीले साउनमा रोप्यौँ, अहिले कोदोको बाला लहलह भएको छ, स्थानीयले पनि अनौठो मानेका छन,” सामुदायिक जिन बैङ्क सञ्जालका संयोजक पुरमल बस्नेतले भने, “नौ प्रजातिका कोदोको बिउ रोपेका थियौँ, एक दुई प्रजाति बाहेक अन्य सबै राम्रोसँग फलेको छ ।”

स्थानीयको डेढ कट्ठा बढी जग्गा भाडामा लिएर कोदोको विभिन्न प्रजातिको बिउ परीक्षणका लागि रोपिएको उनले बताए । “स्थानीयको डेढ कट्ठा जग्गा भाडामा लिएर कोदोको परीक्षण गरेका थियौँ, अहिले लहलह बाला लागेको छ, मङ्सिरको पहिलो सातातिर काट्ने योजना बनाएका छौँ, हामीलाई उत्साहित बनाएको छ, अब तराईमा पनि कोदो उत्पादन गर्न सकिने देखिएको छ,” संयोजक बस्नेतले भने ।

बस्नेतका अनुसार पाँच वटा प्रजाति जिन बैङ्कले परीक्षणमार्फत उत्कृष्ट देखिएका, दुईवटा नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०ले विकास गरेका र अन्य दुई प्रजाति किसानले उत्पादन गरेका जात छन् । “नार्कका प्राविधिकसँगको समन्वयमा हामीले यो परीक्षपण गरेका थियौँ, मङ्सिर पहिलो साता उनीहरु फिल्डमा आउने कुरा भएको छ, सोही समयमा यसलाई टिप्ने योजना बनाएका छौँ,” बस्नेतले भने, “नार्कका प्राविधिकहरुको सल्लाहमा तराईका अन्य स्थानमा रोप्न मिल्ने गरी यसको बिउ सिफारिस गर्ने योजना बनाएका छौँ ।”

नार्कका प्राविधिकको सिफारिस अनुसार तराईका जिल्लाहरुमा किसानलाई कोदो रोप्न प्रेरित गरिने बस्नेतको भनाइ छ । उनका अनुसार रैथाने बालीको संरक्षणका लागि सुख्खा ठाउँमा समेत कोदो जस्तो रैथाने बाली लगाउन मिल्ने गरी यसको परीक्षण उत्पादन गरिएको हो ।

२०७८ मा चिसापानीको गाभर भ्यालीमा नेपालमै पहिलो सामुदायिक जिन बैङ्क स्थापना गरेको जिन बैङ्कका सचिवसमेत रहनुभएका घरबास सञ्चालक सङ्घका महासचिव कृष्ण चौधरीले बताए । गाभर भ्यालीमा कोदो उत्पादनको प्रशस्त सम्भावना रहेको देखिएकाले यहीँबाट परीक्षण उत्पादन सुरु गरिएको र सफल भएको उनको भनाइ छ ।

जिन बैङ्कले तराइमा कोदोको मात्र उत्पादन नगरेर रैथाने अन्नबाली, वनस्पति, पशुपन्छी, मौरी, सूक्ष्म जीवाणु र जलीयकुण्ड क्षेत्रमा काम गर्दै आएको छ। सम्बन्धित रैथाने वस्तुलाई लोप हुनबाट जोगाई संरक्षण गर्ने र त्यसमा आधारित स्थानीय रैथाने जाति प्रजातिसहित सम्बन्धितलाई व्यावसायिकता दिने कार्य गरिरहेको चौधरीले बताए ।

  • २७ कार्तिक २०८१, मंगलवार प्रकाशित

  • Nabintech