काठमाडौँ : नेपाल यूएईलाई पराजित गर्दै आईसीसी महिला यू-१९ टी-२० विश्वकपका लागि छनोट भएको छ। आईसीसी महिला यू-१९ टी-२० विश्वकप एशिया छनोटको आज भइरहेको अन्तिम खेलमा यूएईले जितका लागि दिएको ८४ रनको लक्ष्य १४ ओभर ४ बलमा २ विकेटमात्र गुमाएर पूरा गर्दै एशियाबाट विश्वकपमा छनोट भएको छ।
नेपाल घरेलु यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा छानिन सफल भएको हो। आईसीसी महिला टी-२० विश्वकप अर्को वर्ष मलेशियामा हुँदै छ। ओपनर साना प्रविनले ४२ बलमा १ चौका प्रहार गर्दै अविजित ३५ रन बनाइन्। उनले विजयी चौका प्रहार गरिन्। सोनी पाख्रिनले २० बलको सामना गरेर अविजित १३ रन बनाइन्।
नेपालले ६ खेलबाट १० अंक जोड्यो र युएईले पनि ६ खेलबाटै १० अंक जोडेको भए पनि नेपाल नेट रनरेटका आधारमा यूएईलाई उछिन्दै विश्वकपमा छानिन सफल भएको हो। आजको खेलपछि नेपालको नेट रन रेट ३.९३५ राह्यो भने यूएईको रन रेट ३.७४० रह्यो।
द सेभेन रंगशालामा टस जितेर ब्याटिङ रोजेको घरेलु यूएईले २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रनमात्र बनाउँदै नेपालाई जितका लागि ८४ रनको लक्ष्य दिएको थियो। टस जितेर ब्याटिङ रोजेको घरेलु यूएईले २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रनमात्र बनायो। यूएईका लागि समाइरा धरनिधर्काले ३१ रन, रिनिथा रजितथले २० रन‚ लाभन्या केनी र इन्दुजा नन्दाकुमार दुवैले १०/१० रन बनाए।
नेपालका लागि करिस्मा गुरुङले ४ विकेट, रिया शर्मा र सीमा केसीले २/२ विकेट तथा रचनाकुमारी चौधरीले १ विकेट लिए। यसअघि यूएईले कुवेतलाई १०६ रन र १८४ रन, थाइल्याण्डलाई ७४ रन र ९ विकेटले तथा नेपाललाई १३ रनले पराजित गरेको थियो। नेपालले कुवेतलाई १०८ रन र १६५ रनले तथा थाइल्याण्डलाई ६७ रन र १०६ रनले पराजित गरेको थियो।