नेपालगञ्ज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्ज कार्यालयको बिक्री केन्द्रबाट बाँकेबासीले ६९ हजार रुपैयाँ छुट पाएका छन् । कम्पनीले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सञ्चालनमा ल्याएको सहुलियत बिक्री केन्द्रबाट बाँकेका नागरिकले ६९ हजार रुपैयाँ छुट पाएका हुन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले चाडपर्वलाई लक्षित गरी सञ्चालनमा ल्याइएको सहुलियत पसलबाट बाँकेका नागरिकले ६९ हजार रुपैयाँ छुट पाएको बताए ।
“चाडपर्वलाई लक्षित गरी गत असोज ६ गतेदेखि सञ्चालन गरिएको सहुलियत पसल (बिक्री केन्द्र)बाट कात्तिक २८ गतेसम्म ६९ हजार रुपैयाँ बराबरको छुटमा खाद्य सामग्री बिक्री गरेका छौँ, यहाँका नागरिकहरुले चामल खरिद गर्दा उक्त रकम बराबरको छुट पाउनुभएको छ ।”
सूचना अधिकारी घिमिरेले भने, “अन्य बिक्री केन्द्रबाट चामलसहित दाल, नुन, तेल, चिनी, चियापत्ती, घीउ, जिरा, चिउरा, पिठो लगायतका २८ किसिमका खाद्य बस्तु बिक्री भएपनि नेपालगञ्जबाट केबल चामल मात्र बिक्री गरेका हौँ, चामल खरिद गर्ने नागरिकहरुले सो छुट पाउनुभएको हो ।”
नेपालगञ्ज बिक्री केन्द्रबाट चाडपर्व अवधिभर दुई सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिइएको भएतापनि हालसम्म १३८ क्विन्टल चामल बिक्री भएको छ । “हामीले सहुलियत पसलबाट दुई सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिएका थियौँ, हालसम्म १३८ क्विन्टल बिक्री भएको छ,” घिमिरेले भने, “अरुवा मोटा, अरुवा सोना मनसुली, अरुवा मध्यम चामल र स्टीम जिरा गरी चार प्रकारका चामल बिक्री गरेका छौँ ।”
घिमिरेका अनुसार नेपालगञ्जस्थित कार्यालयको बिक्री केन्द्रबाट अरुवा मोटा चामल ५० किलो, अरुवा सोना मनसुली २९ क्विन्टल, अरुवा मध्यम ३७.७५ क्विन्टल र स्टीम जिरा ७०.७५ क्विन्टल बिक्री भएको छ । उनका अनुसार ६३०० रुपैयाँ क्विन्टल पर्ने अरुवा मोटा चामल ५८०० रुपैयाँमा, ६५०० रुपैयाँ पर्ने अरुवा सोना मनसुली र अरुवा मध्यम चामल ६००० रुपैयाँ र ९४०० रुपैयाँ पर्ने स्टीम जिरा चामललाई ८९०० रुपैयाँ प्रति क्विन्टलका दरले बिक्री गरिएको हो । सबै प्रकारका चामलमा प्रति क्विन्टल पाँच सय रुपैयाँ छुट गरी सहुलियत दरमा बिक्री भएको हो ।
नागरिकलाई दिएको छुट कटाएर १० लाख ३३ हजार ७५ रुपैयाँको चामल बिक्री भएको छ । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सहुलियत बिक्री केन्द्र आगामी माघ २ गतेसम्म सुचारु हुने खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जले जनाएको छ ।