बाँके: लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालले बाँकेको नेपालगंजमा रहेको कारागार र नौवस्तामा रहेको बाल सुधार गृहको निरीक्षण गर्दै त्यहाँ रहेका कैदी बन्दीहरूको जीवनस्तर, भौतिक सुविधा, र उनीहरूले भोगिरहेका समस्याहरूको प्रत्यक्ष जानकारी लिएका छन ।
बिहीबार दिउसो कारागार र सुधार गृहको अनुगमनमा पुगेका मन्त्री अग्रवालले कैदीहरूसँग संवाद गर्दै, उनीहरूले सामना गरिरहेका कठिनाइहरूबारे सुन्नुका साथै तुरुन्तै सुधारका लागि पहल गर्ने वचनवद्धता ब्यक्त गरेका थिए।
कैदीहरूले कारागारमा शौचालयको अभाव, विद्युत् आपूर्तिमा असुविधा, खानेपानीको कमी, र महिला कैदीहरूको लागि जीर्ण भवनको अवस्था जस्ता समस्या रहेको बताएका थिए भने महिला कैदीहरूले आफ्नो बसोबास स्थान असुरक्षित र अस्वास्थ्यकर रहेको गुनासो गर्दै स्वास्थ्य तथा सरसफाइका आधारभूत सुविधाहरू सुधार गर्न आग्रह गरेका थिए ।
मन्त्री अग्रवालले कैदीहरूको गुनासोलाई गम्भीरतापूर्वक लिँदै भने, “कारागारमा रहेका प्रत्येक व्यक्तिले आधारभूत सुविधा पाउनु पर्छ । विशेष गरी महिला कैदीहरूको लागि शौचालय, बसोबास, र खानेपानीको उचित व्यवस्थापन प्राथमिकताका साथ गरिनेछ ।” उनले यसका लागि सरोकारवाला निकायहरूसँग आवश्यक छलफल गरी शीघ्र सुधारात्मक कदम चाल्ने बताए । बाल सुधार गृह र महिला कैदीहरूको सुविधामा विशेष ध्यान दिँदै कारागारको पूर्वाधार र व्यवस्थापन सुधार गर्न उनले सम्बन्धित प्रशासनलाई निर्देशन समेत दिएका छन ।
मन्त्री अग्रवालले भने, ‘बन्दी र कैदीका रूपमा कारागारमा रहेकाहरूको मानव अधिकारको पूर्ण रूपमा संरक्षण गरिनेछ’, उनले अगाडि भने, ‘त्यहाँको स्थिति सुधार गर्न प्रदेश सरकारले पहल गर्ने छ ।’
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले कैदीहरूको अवस्थाबारे चिन्ता व्यक्त गर्दै “गृह प्रशासनको जिम्मेवारी केवल सुरक्षा सुनिश्चित गर्नु मात्र होइन, मानव अधिकारको प्रत्याभूति गराउँदै कैदीहरूको जीवनमा सकारात्मक प्रभाव पार्नु पनि रहेको वताएका छन।” उनले महिला कैदीहरूको स्वास्थ्य र स्वच्छताका सवालमा जिल्ला प्रशासनको भूमिका सशक्त रहने उल्लेख गर्दै कारागारमा सुरक्षित र सम्मानजनक वातावरण निर्माणका लागि जिल्ला प्रशासनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री अग्रवालको यो निरीक्षणले कारागार सुधारको दिशामा ठोस कदम चालिने विश्वास दिलाएको छ । स्थानीय निकाय र प्रहरी प्रशासनसँगको सहकार्यले महिला कैदीहरू बाल सुधार गृहको लागि सुरक्षित र स्वस्थ वातावरणको प्रत्याभूति दिलाउन सकिनेछ । अनुगमनमा बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की, सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी लगायतको सहभागिता रहेको मन्त्री अग्रवालका निजी सचिव अरुण कुमार सिंहले न्युज मानसरोवरलाई वताएका छन ।