बाँके\लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य तीन दिने चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । चीनको सिचुआन प्रान्तले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर मुख्यमन्त्री बिहीबार नेपाल फर्किएका हुन् ।
कात्तिक २६ गते उक्त सम्मेलनका लागि प्रस्थान गरेका मुख्यमन्त्री आचार्यको विदाइ सिचुआन प्रान्तका वैदेशिक विभागका उपमहानिर्देशक पाङग्वाङ ल्याङले तियान्फु विमानस्थलमा गरेका थिए ।
मुख्यमन्त्री आचार्यले भ्रमणको क्रममा पर्यटन भौतिक पूर्वाधार निर्माण, मोनोरेल सञ्चालन, लुम्बिनी प्राविधिक विश्वविद्यालयको स्थापना, चिनियाँ विधायन पद्धतिबाट लुम्बिनी प्रदेशसभा सदस्यहरुको क्षमता अभिवृद्धि, कृषक र जडिबुटी उत्पादकहरुको लागि तालिम र बजारीकरणमा सहयोग लगायतका बिषयमा चिनियाँ पक्षसँग छलफल गरेका थिए ।