२३ असार २०८२, सोमबार

संवेदनशील बनौँ सरकार
  • न्युज मानसराेवर

विकट गाउँबस्तीका पीडालाई सिंहदरबारको महलमा बस्नेहरुले देख्न सकेका छैनन्। विभिन्न प्रकारका रोगका कारण अस्पतालमा भर्ना भएका गरिब विपन्नहरु पैसाको अभावमा अस्पतालकै बेडमा थलिएर मर्नसमेत विवश छन्।

स्वास्थ्य अत्यन्तै महँगो हुन पुगेकाले सर्वसाधारण नागरिकहरु प्रताडित छन् । शासकहरुकै मिलेमतोमा स्वास्थ्य र शिक्षा वर्षौंदेखि दलालहरुको कब्जामा छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अंगीकार गरिएको भए पनि शासकहरुले यो शासन व्यवस्थाको मूल्य र मान्यताको खिल्ली उडाएका छन्।

संविधानको प्रस्तावनामा नै समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। तर हाम्रा शासक तथा राजनीतिक नेतृत्वले संविधानको सो प्रावधानको समेत धज्जी उडाउँदै आइरहेका छन्। उनीहरुको यस्तै भ्रष्ट चरित्र र पैसा कुम्ल्याउने सोचकै कारण संविधान च्यातिन थालिसकेको छ । शासकहरुको नालायकीपनका कारण संविधानको मौलिक हकमा व्यवस्था गरिएका कैयौँ धाराहरु निलम्बनजस्तै बनेका छन् । अहिले पनि मुलुकमा गरिबीको रेखामुनि रहनेहरुको संख्या दिनानुदिन बढ्दो छ।

सरकारले प्रशासनमाथि हस्तक्षेप गरी प्रशासनिक निकायलाई पंगु बनाइदिएको छ । राजनीति र प्रशासनको मिलिभगतमा भित्रभित्रै नीतिगत भ्रष्टाचार अत्यधिक मौलाइरहेको छ। शासकहरु भने काले काले मिलेर खाऊँ भालेको शैली अपनाइरहेका छन्। अहिले मुलुकमा संघीय, प्रदेश र स्थानीय गरी तीनवटा सरकार भए पनि संघीय र प्रदेश सरकार कहाँ छ भन्ने बारेमा आमजनताले कुनै भेउ पाइरहेका छैनन्। किनकि उनीहरुले सरकारलाई देख्न र अनुभूतसमेत गर्न पाएका छैनन्।

यदि सरकार वास्तविकरुपमा भइदिएको भए त जनताले चर्को मूल्यवृद्धिको पीडा सहन पर्दैनथ्यो। सिटामोल र जीवनजलको अभावमा अकाल मृत्युवरण गर्नुपर्दैनथ्यो । सुलभ स्वास्थ्यको अभावमा रोग र शोक लिएर बस्नुपर्दैनथ्यो। मलको अभावमा किसानहरु छटपटाउनुपर्दैनथ्यो । आमजनता अभावै अभावमा बाँच्नुपर्दैनथ्यो। गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारी र सामाजिक सुरक्षाको उचित प्रबन्ध हुन्थ्यो। त्यसैले अहिले मुलुकमा अधिकांश जनताले सरकार नै नभएको अनुभूति गरिरहेका छन् । यस्तो अवस्था कहिलेसम्म रहला ? कतै यही दुःखद अवस्था रहिरहेमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था नै धरापमा पर्ने त होइन ? गम्भीर चिन्ताको विषय भएको छ ।

हाम्रो अहिलेको शासन व्यवस्था संसारमा नै सबैभन्दा उन्नत शासन व्यवस्था हो तर यसका सञ्चालकहरु महाभ्रष्ट बन्न पुग्दा छोटो समयमा नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था बदनाम हुन पुगेको छ।

आमजनतामा निराशा र आक्रोश चुलिन पुगेको छ । यस्तै हो भने जनताले अब विकल्प खोज्नेछन् र पुराना राजनीतिक दल र नेताहरुलाई पत्तासाफ पारिदिन पनि सक्छन्। त्यसैले अब प्रमुख राजनीतिक दल शासक र प्रशासकहरुले ठण्डा दिमागले सोच्नै पर्ने भएको छ। उनीहरु अब आफ्नो व्यक्तिगत स्वार्थलाई पूर्णरुपमा त्यागी देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुको विकल्प छैन।

  • १ मंसिर २०८१, शनिबार प्रकाशित

  • Nabintech