६ मंसिर २०८१, बिहीबार

दुई महिनामै १ लाख ७३ हजार पर्यटक मुस्ताङमा
  • न्युज मानसराेवर

बाँके\दुई महिनामा एक लाख ७३ हजार पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। असोज र कात्तिक महिनामा एक लाख ४४ हजार १५५ जना स्वदेशी र २८ हजार ९७६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले असोज महिनामा ५९ हजार ८३१ र कात्तिकमा एक लाख १३ हजार ३०० जना पर्यटक हवाई तथा स्थलमार्ग भएर मुस्ताङ भित्रिएको बताए।

प्रहरीले घाँसामा सडकमार्ग र जोमसोम विमानस्थलको चेक पोष्टमा हवाईमार्गबाट भित्रनेको अभिलेख राख्ने गरेको छ। असोजमा बेनी–जोमसोम सडक भएर ५७ हजार ९८२  र पोखरा–जोमसोम हवाईमार्गबाट एक हजार ८४९ जना मुस्ताङ भित्रिएका प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।

कात्तिकमा सडकबाट एक लाख ११ हजार ६५५ र हवाईमार्गबाट एक हजार ६४५ जना पर्यटक मुस्ताङ पुगेका प्रहरीको तथ्याङ्क छ। दसैँतिहार पर्व र बिदाको अवसर पारेर मुस्ताङ घुम्न आउनेहरूको सङ्ख्या अन्य महिनाको तुलनामा असोज र कात्तिकमा धेरै हुन्छ।

होटल व्यवसायीका अनुसार मुस्ताङ घुम्दा एक जना पर्यटकले सरदर न्युनतम रु १५ हजार खर्च गर्छन्। असोज र कात्तिक यहाँ भित्रिएका पर्यटकले रु दुई अर्ब ५९ करोड ६९ लाख ६५ हजार बराबरको आर्थिक कारोबार भएको अनुमान गरिएको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताए।

  • ५ मंसिर २०८१, बुधबार प्रकाशित

  • Nabintech