बाँके: गरिमा विकास बैंक लिमिटेड, कोहलपुर क्षेत्रीय कार्यालयले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरको सहकार्यमा आज आयोजित रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक र स्थानिय समुदायका सदस्यहरूले सहभागी भएर ६५ पिन्ट रगत संकलन गरेका छन्।
बैंकले १०० पिन्ट रगत संकलन गर्ने लक्ष्य राखेको थियो। कोहलपुर क्षेत्रीय कार्यालयका प्रमुख प्रकाश देवकोटाले रक्तदान कार्यक्रमको महत्वमा प्रकाश पार्दै भने, “आजको रक्तदान कार्यक्रम हाम्रो १८ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो। हाम्रो बैंकले सधैं सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएको छ र हामी आगामी दिनहरूमा पनि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिनेछौं।” गरिमा विकास बैंकले वार्षिक उत्सवको अवसरमा केवल रक्तदान कार्यक्रम मात्रै नभइ अन्य सामाजिक उत्तरदायित्वका कार्यहरूमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।
प्रमुख देवकोटाले थपे, “हामी अस्पतालका बिरामीहरूलाई फलफुल वितरण, सरकारी स्कूलका अति विपन्न बालबालिकाहरूलाई शैक्षिक सामाग्री जस्तै कि कापी, कलम र झोला वितरण गर्दै आएका छौं।” आजको रक्तदान कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरूसँग शुभकामना सन्देश पनि आदानप्रदान गरिएको छ। कोहलपुर चपरगौडी शाखाका प्रमुख विष्णु पौडेलले यस बारेमा जानकारी दिँदै भने, “हामीले आजको कार्यक्रममा कोहलपुर उद्योग बाणिज्य संघका पदाधिकारीलाई बधाई र शुभकामना दिएका छौं। यसले हाम्रो सम्बन्धलाई अझ प्रगाढ बनाउँछ।”
गरिमा विकास बैंक लिमिटेडले बैंकिङ कारोबार मात्र नभई समाजको विकासमा पनि महत्त्वपूर्ण भूमिका निभाउँदै आएको छ। पौडेलले भने “हामी सबैको लागि सरल र सुरक्षित बैंकिङ सेवा प्रवाह गर्दै आएका छौं र आगामी दिनमा पनि यसमा थप सुधार गर्दै जनताको सेवामा समर्पित रहनेछौं।” बैंकले आगामी दिनहरूमा लगानीकर्ताहरूलाई उच्चतम प्रतिफल दिने र ग्राहक सेवामा अझ उत्कृष्टता ल्याउने प्रतिबद्धता जनाएको छ। यस प्रकारका सामाजिक उत्तरदायित्वका कार्यहरूले बैंकको प्रतिष्ठामा थप वृद्धि गर्ने विश्वास गरिएको छ।