राप्तीसोनारी,बाँके:आर्थिक स्थिति कमजोर भएका सर्वसाधारण नागरिकका लागि बाँकेको राप्ती सोनारी गाउँपालिकाले घर बनाइदिन थालेपछि त्यस्ता समुदायका नागरिकहरुले नयाँ घर पाउने भएका छन् । विशेष अनुदान अन्तर्गत राप्तीसोनारी गाउँपालिकाले विपन्न आवास कार्यक्रममार्फत् लक्षित समुदायको छनौट गरी उनीहरुलाई नयाँ घर बनाइदिन सुरु गरेको हो ।
आर्थिकरूपले विपन्न समुदायका मानिसहरूलाई नयाँ घर बनाइदिएर जेठ मसान्तभित्र हस्तान्तरण गर्ने कार्यक्रम छ । राप्तीसोनारी गाउँपालिका वडा नं ८ धरमोतीकी गंगा विकलाई नयाँ घर पाउने भएपछि खुसीको सीमा छैन । उनको परिवार अहिले धरमोतीमा कोठा भाडामा लिएर बस्दै आएको छ । टिनको छानो भएको तर सिमेन्टको खम्बा ठड्याएको दुई कोठाको घरमा बस्न पाउने भएपछि गंगाको मुहारमा छुट्टै खुसी झल्किन्थ्यो ।
गाउँपालिकाले दुई कोठे पककी घर बनाइदिने भएपछि उनले वर्षौदेखि अर्कैको घरमा कोठा भाडामा लिएर बस्नु पर्ने बाध्यताको अन्त्य हुनेछ । ‘सम्पतीको नाममा १२ धुर जग्गा छ । सासु आमा क्यान्सर पीडित हुनुहुन्छ । श्रीमानको मजदुरीले साँझ विहानको जोहो टरेको छ उनी अगाडि भन्छिन्–‘भाडामा बस्दा कोठा विजुली वत्ती गरेर महिनाको दुई हजार खर्च हुन्छ । आफ्नै घर हुने भएपछि त्यो दुई हजार पनि बचत हुने भयो । आफ्नै घरमा बस्ने सपना पनि पूरा हुने भयो ।’ गंगा जस्तै घर नभएर अरुको घरमा बस्नु पर्ने बाध्यता भएका परिवार र साँघुरो, होचो, फुसको छानो अनि बाँसको बेरा भएको घरमा बस्दै आएका विपन्न समुदायलाई प्राथमिकतामा राखेर पालिकाले घर बनाइदिन थालेको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताए ।
गंगा विकको घरको शिलान्यस गर्दै गाउँपालिकाका अध्यक्ष पौडेलले पालिकामा विपन्न आवास कार्यक्रम सुरु भएको बताए । उनले संबिधानप्रदत आवास पाउनुपर्ने नागरिकको हकलाई पालिकाले कार्यान्वयन गरेको बताए । चालु आर्थिक वर्षमा गंगा विकलाई जस्तै ५२ वटा घर गाउँपालिकाले बनाइदिन थालेको अध्यक्ष पौडेलले बताए । उनले भने–‘यो वर्ष हामीले ५२ वटा घर बनाउँदैछौं । यो हाम्रो आफ्नै कार्यक्रम हो तर केन्द्र सरकारको सहयोग छ ।’ विपन्न र आयस्तर कमजोर भएका परिवारको पहिचान गरेर विपन्न आवास कार्यक्रम कार्यान्वयनमा ल्याइएको उनले बताए ।
नयाँ घर पाउनेहरुमा आदिवासी, दलित तथा पिछडिएका समुदायका परिवारहरु रहेको गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले बताइन् । उनले घरहरु गुणस्तरीय र भरपर्दो बनाउन निर्माणको जिम्मा पाएका ठेकेदारलाई निर्देशन समेत दिइन् । गाउँपालिकाका असिस्टेन्ट प्राविधिक दुर्गा केसीले चालू आर्थिक वर्षमा ९ वटै वडामा ५२ वटा घर बनाउन लागिएको बताए । उनले विशेष अनुदानको २ करोड ८० लाखको लागतमा घरहरु निर्माण गरिने बताए ।
एउटा घरको लागत ५ लाख ३७ हजार ५५५ रुपैयाँ रहेको उनले बताए । त्यसमा ब्रण्डा, दुई वटा पक्की कोठा र छानो जस्ता पाताको हुनेछ । शौचालय पनि त्यसैबाट निर्माण गरिनेछ । तर शौचालयको सेफ्टी ट्यांकी भने घरधनीले बनाउनुपर्ने उनले बताए । आगामी जेठ मसान्तभित्र सम्पन्न गर्ने गरी भवरभवानी निर्माण सेवा र सौगात कन्ट्रक्सन ठाकुरबाबा बर्दियाले घर निर्माणको ठेक्का लिएका छन् ।
भवरभवानीले २१ वटा र सौगातले ३१ वटा घर बनाउनेछन् । सौगातले वडा नं.३, ४, ५, ६ र ७ मा ३१ वटा र भवरभवानीले वडा नं.१, २, ८ र ९ मा २१ वटा घर बनाउने सम्झौता छ । भवरभवानी निर्माण सेवाका संचालक सुरेन्द्र पौडेलले सम्झौता अवधिमै घरहरु निर्माण गरेर हस्तान्तरण गरिने प्रतिवद्धता जनाए । उनले भने–‘गाउँपालिकासँग भएको सम्झौताअनुसार निर्माण सकेर जेठ मसान्तभित्र सबै घर हस्तान्तरण गछौं । गुणस्तरीयतामा कुनै सम्झौता हुदैन् ।’