कोहलपुर,बाँके: अमेरिकाको भर्जिनिया च्यान्टिली नजिकै भयानक कार दुर्घटनामा परी दुई नेपाली युवकको मृत्यु भएको छ। स्थानीय समयअनुसार शुक्रबार मध्यराति साढे १२ बजे भएको दुर्घटनामा एक अर्का नेपाली घाइते भएका छन्।
दुर्घटनामा परी ज्यान गुमाउने रुकुम जिल्लाको आठबिसकोट नगरपालिका-७ का सुरेश केसी रहेको उनका छिमेकी सुशील चन्दले जानकारी दिए। अर्का युवक बर्दियाका विवेक सुवेदी भएको स्थानीय समाजसेवी योगेश श्रेष्ठले बताएए। उनका अनुसार काठमाडौंका मेहुल श्रेष्ठ घाइते भएका हुन्। उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् उनको स्वास्थ्य अवस्था खतरामुक्त छ।
कारचालक ३० वर्षीय नेपाली विजय तामाङलाई पक्राउ दुई जनाको हत्या अभियोगमा लाउडाउन काउन्टी सेरिफ कार्यालयले मुद्दा चलाउने तयारी गरिरहेको छ। उनलाई लाउडाउन काउन्टी अडल्ट डिटेन्सन सेन्टरमा राखिएको पुष्टि गरेको छ।
यो घटनाबारे लाउडाउन काउन्टी सेरिफ कार्यालयले दुई प्रेस विज्ञप्ति प्रकाशन गरेको छ। पहिलो विज्ञप्तिमा एक महिला समेत भएको भनिएकोमा दोस्रोमा विज्ञप्तिमा दुर्घटना परेको कारमा चारै जना पुरुष रहेको भनी सच्याइएको छ। एनआरएनए भर्जिनियाका अध्यक्ष विशाल कार्कीले परिवारजन र स्थानीय लाउडाउन काउन्टी सेरिफ कार्यालयसँग सम्पर्क गर्ने र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताए।
दुर्घटना लाउडाउन काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको बताइएको छ। चालक तामाङले अत्यधिक मादक पदार्थ सेवन गरी कार चलाएकाले दुर्घटना भएको आशङ्का प्रहरीले गरेको छ। अत्यधिक गतिमा चलाइएको उक्त कार नियन्त्रण गुमेपछि सडकबाहिर पुगी रुखमा ठोक्किएको प्रहरीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बताएको छ।