बाँके:बाँकेको हुलाकी सडकअन्तर्गत राप्ती नदीस्थित सिधनियाघाटमा निर्माणाधिन पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ । सात सय मिटर लामो पुल निर्माणको लागि तत्कालिन भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री मोहम्मद इस्तियाक राईले २०७९ भदौ ४ गते शिलान्यास गरेपछि पुल निर्माणको काम सुरु भएको हो ।
सम्झौता भएको ५३ महिनामा निर्माण सक्ने गरी लुम्बिनी–रौताहा वन्दना भगवती जेभीले निर्माण कार्यलाई तीव्रता दिएको छ । निर्माण थालेको करिव एक वर्षमा ३० प्रतिशत काम भइसकेको आयोजनाका फिल्ड इन्चार्ज इन्जिनियर राजेश पटेलले बताए ।
सिधनियाघाटमा हाल रहेको पुल साँघुरो र छोटो भएकाले नयाँ पुल निर्माण गर्न तत्कालिन मन्त्री राईले बजेट विनियोजन गराएका थिए । हाल सञ्चालनमा रहेको पुलमा एउटा गाडी मात्र ओहोरदोहोर गर्न सक्ने भएकोले नयाँ पुलका लागि बजेट विनियोजन गरिएपछि पुल निर्माणको काम अगाडी बढेको छ । निर्धारित समयभन्दा ६ महिनाअघि सक्ने गरि काम भइरहेको इन्जिनियर पटेलले बताए ।
२०८४ असार मसान्तमा सम्पन्न गर्ने गरी ०७९ माघमा सम्झौता भएको निर्माण कम्पनीले जनाएको छ । अहिले निर्माण भइरहेको पुल सात सय मिटर लम्बाइ र ११ मिटर चौडा छ । दुवैतर्फ १.७५ मिटर फुटपाथ निर्माण समेत गरिनेछ । भ्याटसहित एक अर्ब १९ करोडमा पुल निर्माण भइरहेको छ । नदिको पानी नभएको ठाउँमा पिलर तयार भई ढलानको तयारी भइरहेको छ । सरकारले आवश्यक बजेट दिए समय अगावै काम सम्पन्न गर्ने योजना रहेको उनले बताए ।
राप्तीसोनारी गाउँपालिका– ७ का दुर्गाप्रसाद पाण्डेले भने, ‘पुल बन्न थालेपछि आउजाउ गर्न सहज हुने आशा पलाएको छ ।’ नरैनापुर निवासी नसिम खाँले पुल निर्माण हुन थालेपछि खुसी लागेको बताए । उनले बाढीले सडक र कल्भर्ट बगाउँदा हिउँदमा समेत आउजाउ गर्न असहज हुने गरेको बताए ।
“बर्खामा आउजाउ गर्न सकिँदैन नै, हिउँद र गर्मीयाममा समेत असहज हुन्छ,’ उनले भने, “सात सय मिटर लामो पुल बन्न लागेपछि नरैनापुरवासी खुसी देखिएका छन् ।’