१५ मंसिर २०८१, शनिबार

चाडपर्व सकिएपछि सुदुरपश्चिमका बासिन्दा फेरि कामको लागि भारत फर्कँदै
  • न्युज मानसराेवर

कैलाली: चाडपर्व मनाउन घर आएका सुदूरपश्चिमका धेरै बासिन्दा फेरि आफ्नो कर्मथलो भारततिरै फर्किन थालेका छन् । अहिले सुदूरपश्चिमेलीका नाकाहरू रोजगारीका लागि छिमेकी देश भारत फर्किनेहरूको भीड देखिन्छ । चाडपर्व सकिएलगत्तै कामका लागि भारत फर्कनेहरुको भीड बढेको हो । काम नपाएपछि देशमा बसेर जीवन धान्न मुस्किल हुने उनीहरुको भनाइ छ ।

कैलालीको त्रिनगर भन्सार नाकाबाट हिजोआज दिनहुँ दैनिक एक हजारभन्दा बढी नेपाली रोजगारको लागि भारत गइरहेको सीमानाकामा रहेको सशस्त्र प्रहरी सीमा सहायता कक्ष (हेल्प डेस्क) ले जनाएको छ ।

यहाँबाट एक हप्तामा नौ हजार एक सय ४९ जना नेपाली भारतका विभिन्न शहरमा रोजगारीका लागि बाहिरिएका तथ्याङ्क छ । सुदूरपश्चिमका नागरिकमध्ये कोही छोटो समयका लागि त कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गर्छन् ।

कतिपय खेतीपातीको काम सम्पन्न गरी अन्नबाली नभित्रिएसम्म भारतमा काम गर्न जाने र अन्नबाली भित्राउने  समयमा घर आउने गर्छन् । खेतीपाती नहुनेहरू भने लामो समयको अन्तरालपछि चाडबाड मनाउन घर आउने गरेका छन् ।

सुदूरपश्चिमका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका मानिस रोजगारीका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायतका ठूला शहरमा जाने गर्छन् । बिनाभिसा र रोजगारी सहजै प्राप्त हुने भएकाले पनि धेरैजसो नेपाली रोजगारीका लागि भारत जाने गरेका छन् ।

  • १५ मंसिर २०८१, शनिबार प्रकाशित

  • Nabintech