सल्यान : राप्ती राजमार्ग दैनिक पाँच घण्टा बन्द गरिएको छ । सडक स्तरवृद्धिका समयमा नियमित गाडी सञ्चालनमा आउँदा दाङ–सल्यान सडक खण्डको कपुरकोटदेखि राम्रीसम्म काम प्रभावित हुन थालेपछि जिल्ला प्रशासन कार्यालय दाङले सूचना प्रकाशन गरेर सोमबारदेखि पाँच घण्टा बन्द गरेको हो ।
राप्ती राजमार्ग हरेक दिन बिहान ११ देखि दिउँसो ४ बजेसम्म बन्द गरिएको हो । वैकल्पिक मार्ग नभएपछि यात्रु दिनभरि उक्त सडकमा रोकिएका छन् ।
सडक डिभिजन कार्यालय घोराही दाङकै रोहबरमा सूचना प्रकाशन गरिएको जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताए । उनका अनुसार राप्ती राजमार्गको राम्री कपुरकोट सडक खण्डमा गाडी आउजाउ बन्द गरिएपनि बिरामी बोकेका एम्बुलेन्स लगायत चारपाङ्ग्रे साना गाडीहरु कपुरकोट–किमुचौर–सातलवास– पैयाखोला हुँदै सञ्चालन गर्न सकिने छ ।