काठमाडौँ : उपनिर्वाचन भएका ४१ स्थानीय तहमध्ये ३७ वटाको मतपरिणाम सार्वजनिक भएको छ। मतदान सकिएको २४ घण्टामा चार स्थानीय तहबाहेकको अन्तिम परिणाम आइसकेको निर्वाचन आयोगले जनाएको छ।
कीर्तिपुर नगरपालिका प्रमुख, हुम्लाको सर्केगाड र दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदको मतगणना जारी रहेको आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले जानकारी दिए। उनका अनुसार विवादका कारण रोकिएको उदयपुरको बेलका नगरपालिका-९ मा फेरि मतगणना सुरु भएको छ।
कीर्तिपुरमा कांग्रेस नै अगाडि
कीर्तिपुरको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायमै छ। पछिल्लो नतीजा अनुसार डंगोलले ३ हजार ३८५ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरले २ हजार ७२६ मत प्राप्त गरेका छन्। मानन्धरभन्दा डंगोल ६५९ मतले अगाडि छन्। तेस्रोमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले २ हजार ३१७ मत ल्याएका छन्। धरानका मेयर हर्क साम्पाङको समर्थनमा चुनाव लडेका स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १ हजार २०७ मत प्राप्त गरे।
रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका उपाध्यक्षमा माओवादीकी नरपुरा बुढा विजयी भइन्। सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई ठूलो मतान्तरले पराजित गर्दै माओवादीकी उम्मेदवार बुढा निर्वाचित भएकी हुन्।
कांग्रेसको चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएकी एमालेकी केशकुमारी तुलाचनलाई १ हजार ४९९ मतान्तरले पराजित गर्दै बुढाले जित हासिल गरिन्। बुढाले ३ हजार ६२७ मत ल्याउँदा कांग्रेस–एमाले गठबन्धनकी तुलाचन २ हजार १२८ मतमा सीमित भइन्।
यस्तै, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा पनि माओवादीकी निमलेकी शेर्पाले अग्रता लिएकी छिन्। एमालेकी उमा लुङ्गेली मगर शेर्पा दोस्रोमा हुँदा कांग्रेसकी पासदिकी तामाङले तेस्रो स्थानमा छिन्।