रुपन्देही: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले सबैको साथ सहयोग भएमा लुम्बिनी प्रदेश बाल विवाह मुक्त प्रदेश बनाउने बताउनुभएको छ ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री आचार्यलाई भेट्न गएका युवतीहरूलाई उहाँले युवतीहरूका समस्या समाधान गर्ने बताउँदै लुम्बिनी प्रदेशलाई बाल विवाह मुक्त प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । पूर्व पुथाउत्तरगंगा गाउँपालिकाका किशोरीहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट गर्दै समुदायका समस्या सुनाएका थिए । सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भेट गर्दै किशोरीहरूले गाउँ समाजमा आफूहरूले भोगिरहेका समस्या मुख्यमन्त्री आचार्यलाई सुनाएका हुन । उनीहरूले उज्ज्वल भविष्य र बलियो अभियान सञ्चालनको लागि १७ बुँदे माग पत्र मुख्यमन्त्री आचार्यलाई पेश गरेका हुन ।
मुख्यमन्त्री आचार्यले किशोरीहरूले राखेका समस्यालाई प्रदेश सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । किशोरीहरूले थालेको अभियानमा प्रदेश सरकारले साथ दिने बताउँदै उहाँले किशोर किशोरीहरूको स्वास्थ्य, शिक्षा लगायत मनोसामाजिक क्षेत्रमा सहयोग पुर्याउने गरी कार्यक्रम बनाएको जानकारी दिनुभयो । समुदाय केन्द्रित जनजागरण अभियानहरूलाई तीव्रता दिन, त्यस अभियानहरूमा किशोर किशोरीको सहभागिता सुनिश्चित गरिने पनि बताउनु भयो ।‘तपाईँहरूले उठाएका मागहरू प्रदेश सरकारले सुन्छ । बालविवाह मुक्त प्रदेश बनाउने अभियानमा यहाँहरूको साथ सहयोग चाहिन्छ’उहाँले भन्नुभयो,‘बनेका नीति, नियम तथा कानुनहरूको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।’

बालविवाहको समस्या समाधान गर्न जनजागरणको अभियानलाई तीव्र पार्नुपर्ने बताउनु भयो । नीतिगत रुपमा प्रदेश सरकारले सम्बोधन गरेको र छुटेका विषयलाई आगामी दिनमा सम्बोधन गरिने पनि बताउनु भयो । पुथाउत्तरगंगामा विकास र समृद्धि पुर्याउन प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनु भयो । ‘त्यस क्षेत्रको विकास नगरेसम्म समग्र लुम्बिनी प्रदेशको विकास हुन सक्दैन भन्ने कुरामा प्रदेश सरकार जानकार छ’उहाँले भन्नुभयो–‘पुथाउत्तरगंगा देखी मर्चवारसम्मलाई माथि उठाउन सक्यौँ भने प्रदेशको समग्र विकास भएको मानिने छ । यस दिशामा सरकार अघि बढेको छ ।’ भूगोलबाट पछाडि परेको, जनचेतनाको अभावले पनि पछाडि परेका क्षेत्रको पहिचान गरेर प्रदेश सरकारले काम गर्ने जानकारी दिनुभयो ।
समुदायमा अझैँ पनि जातीय छुवाछुत, दाइजो प्रथा, बोक्सीको आरोप लगाउने, छोट्टी बस्ने, बहुविवाह गर्ने जस्ता सामाजिक र सांस्कृतिक परम्पराको नाममा हुने हिंसा अन्त्यका लागि प्रदेश सरकारले भूमिका बढाउनुपर्ने किशोरीहरूले माग राखेका छन् । पुथाउत्तरगंगका बालबालिका र विशेष गरी युवाहरूमा लागू औषधको प्रयोग र मदिरा सेवन बढिरहेको भन्दै यसले घरेलु हिंसा, यौन दुर्व्यवहार र छोट्टी बस्ने जस्ता सामाजिक अपराधहरू पनि बढाउने भएकाले समस्या समाधानका लागि बृहत् जनचेतनामूलक अभियान चलाउन माग राखिएको छ ।
स्वास्थ्य चौकीको स्थापना र सहज उपचार सेवा देखि खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान, खेल सामाग्रीको व्यवस्था गर्न माग राखेका छन् । घर र विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने, बालबालिका र ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था भएता पनि त्यो भत्ता समयमा आइनपुग्ने, महिला, बालबालिका, एकल महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र अति विपन्नलाई सहज तरिकाले मासिक भत्ता लिने व्यवस्था मिलाउनुपर्ने माग राखिएको छ । मुख्यमन्त्रीलाई समस्या सुनाउन किशोरी सञ्जालमा आवद्ध स्मृति सेन, प्रतिमा पुन, आरती घर्ती, समृद्धि बुढा, सुप्रिया घर्ती लगायत आउनु भएको थियो ।