२५ चैत्र २०८१, मंगलवार

बाँकेमा हात्तीपाइले रोग निवारणका लागि सर्भे
  • न्युज मानसराेवर

बाँके:बाँकेमा हात्तीपाइले रोग निवारणका लागि आइडिए इम्प्याक्ट सर्भेको कामलाई तीब्रता दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा र स्वास्थ्य कार्यालय बाँकेको संयुक्त आयोजनामा बाँकेका आठवटै पालिकामा भइरहेको सर्भेको काम अहिले अन्तिम तिर पुगेको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकलपर्सन दुर्गा गौतमले जानकारी दिइन् ।

उनका अनुसार जिल्लाका ६५ वटा वडामा ४ हजार ७२५ स्याम्पल संकलन गर्ने गरी सर्भेको काम भइरहेको हो । बाँकेलाई दुई साइडमा बाँडेर सर्भेको काम भइरहेको छ । नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकालाई साइड ‘ए’ बनाइएको छ भने कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका र राप्तीसोनारी गाउँपालिकालाई साइड ‘बि’ बनाइएको छ । साइड ‘ए’ मा ३५ वटा वडा छन् ।

त्यसैगरी साइड ‘बि’ मा ३० वटा वडा परेका छन् । साइड ‘ए’ तिरका डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका सबै वडामा सर्भेको काम सम्पन्न भइसकेको छ भने अहिले नेपालगन्ज उपमहानगरपालिकामा चलिरहेको छ । कोहलपुरका ८, राप्तीसोनारीका ६, जानकीका ४, बैजनाथका ७ र खजुराका ५ वटा वडा साइड ‘बि’ परेका छन् ।

साइड ‘बि’ तिरका कोहलपुर बाहेक अन्य सबै वडाको सर्भेको काम सम्पन्न भइसकेको छ । कोहलपुरमा आइतवारदेखि सर्भेको काम भइरहेको कोहलपुर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले बताए । मंसिर ११ गतेबाट सुरु भएको सर्भेको काम यही २८ गते सक्ने लक्ष्य छ । त्यसकालागि अहिले स्वास्थ्यकर्मी, ल्याव र महिला स्वास्थ्य स्वयमसेविकाको टोलि घर–घरमा गइरहेको छ । गएको वर्ष पनि बाँकेलाई दुई साइडमा बाँडेर चार ठाउँमा इपिडिमियोलोजिकल मोनिटरिङ सर्भे (इएमएस)को काम गरिएको थियो ।

इएमएसमा पास भएपछि यो पटक आइआइएस–आइको काम भइरहेको हो । आइडिए इम्प्याक्ट सर्भे अन्तर्गत अहिले एउटा वडामा एक सय पाँच जनाको रक्त नमुना संकलन गरेर जाँच गर्ने काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रकी जुनियर इन्टोमोलोजिष्ट राधा सुवेदीले बताइन् ।

अनुसार २० वर्ष उमेर माथिका नागरिकको रक्त नमुना संकलन गर्ने काम भइरहेको छ । ¥यापिट डाइगोनिष्टक टेस्ट (आरडिटी) मार्फत माइक्रोफाइलेरिया फेला परे उनीहरूको फेरि राती दशदेखि २ बजेसम्मको समयमा माइक्रो स्कोपबाट रक्त नमुना जाँच गरी हात्तीपाइले रोगको परिजिवी भए नभएको पुष्टि गर्ने काम भइरहेको स्वास्थ्य कार्यालय बाँकेका ल्याव टेक्निसियन निरीक्षक केशव ज्ञवालीले बताए । यदि दुई वा दुई भन्दा कम माइक्रोफाइलेरिया पोजेटिभ देखिए पास भएको मानिन्छ र उक्त क्षेत्रमा औषधि सेवन कार्य रोकिने छ ।

तर तीनभन्दा बढी पोजेटिभ देखिए भने फेल हुने र पुनः औषधि सेवन गर्नुपर्ने हुन्छ । बाँकेमा निरन्तर १३ वर्षदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान चलिरहेको छ । ६ वर्षमै औषधि अभियान पूरा हुनुपर्ने भएपनि सबैले औषधि नखाइदिएका कारण यो अभियान बाँकेमा निरन्तर चलिरहेको छ । विगत दुई वर्षदेखि यो अभियानमा तीन वटा औषधि खुवाउने गरिएको छ । यो सर्भेले २० वर्षभन्दा माथिका मानिसहरूको शरीरमा रोग भए नभएको यकिन गर्नेछ । सर्वेक्षण गरिएको भौगोलिक क्षेत्रमा आम औषधि सेवन कार्यक्रमको प्रभावकारिता समेत थाहा हुनेछ ।

  • २४ मंसिर २०८१, सोमबार प्रकाशित

  • Nabintech