२६ मंसिर २०८१, बुधबार

बासगढीमा मुख्यमन्त्री आचार्यद्वारा थारु सांस्कृतिक भवनको उदघाटन

थारु समुदाय संस्कृतिको धनी, प्रदेश सरकारले आवश्यक सहयोग गर्ने

  • न्युज मानसराेवर

नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली समाजमा रहेको बहुजातीय र बहुभाषिक अवस्थाले सामाजिक सद्भाव बढाउन मद्दत गरेको बताएका छन् । बर्दियाको बासगढी नगरपालिका ५ लक्ष्मणपुरस्थित थारु सांस्कृतिक केन्द्रको नवनिर्मित भवनको मङ्गलबार उदघाटन गर्दै मुख्यमन्त्री आचार्यले थारु समुदाय संस्कृतिको धनी रहेको बताउँदै प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।

उनले सीमान्तकृत समुदायलाई सरकारी सेवामा आरक्षणसहितको व्यवस्था कानुनमा गरिएको जानकारी दिए । सीमान्तकृत र पिछडिएको क्षेत्र सरकारको प्राथमिकतामा रहेको भन्दै उनले सुकुम्बासी र भूमिहीन समस्या समाधान गरिने बताए ।

उक्त अवसरमा प्राचीन थारु सृजनशील आदिवासी समाज बर्दियाका कार्यकारी निर्देशक एकराज चौधरीले गुर्बाबा एफएममार्फत आदिवासी थारु, जनजातिसहित सबै समुदायको हक अधिकारको पक्षमा काम गरिरहेको बताए ।

जग्गा दाता टीकाराम पौडेलले डेढ कठ्ठा जग्गा र डेनमार्कका फ्लेमिङ टपसोयले  ५५ लाख, समाजको २६ लाख, लुम्बिनी प्रदेश सरकारको २० लाख र बासगढी नगरपालिकाको १५ लाख गरी एक करोड १६ लाख रुपैयाँको लागतमा भवन निर्माण भएको हो ।

  • २५ मंसिर २०८१, मंगलवार प्रकाशित

  • Nabintech