२६ मंसिर २०८१, बुधबार

बाँकेमा अन्तिम चरणमा पुग्यो हात्तीपाइले रोग निवारण सर्भे
  • न्युज मानसराेवर

बाँके\बाँकेमा हात्तीपाइले रोग निवारणका लागि सुरु गरिएको आइडिए इम्प्याक्ट सर्भेको काम अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा र स्वास्थ्य कार्यालय बाँकेको संयुक्त आयोजनामा बाँकेका आठ वटै पालिकामा भइरहेको सर्भेको काम अहिले अन्तिम अवस्थामा पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकलपर्सन दुर्गा गौतमले दिनुभएको जानकारी अनुसार जिल्लाका ६५ वटा वडामा ४ हजार ७२५ स्याम्पल सङ्कलन गर्ने गरी सर्भेको काम भइरहेको छ । बाँकेलाई दुई साइडमा बाँडेर सर्भेको काम भइरहेको उनले बताए ।

फाेकलपर्सन गौतमका अनुसार नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकालाई साइड ‘ए’ बनाइएको छ भने कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका र राप्तीसोनारी गाउँपालिकालाई साइड ‘बि’ बनाइएको छ । साइड ‘ए’ मा ३५ वटा वडा रहेको छन् भने साइड ‘बि’ मा ३० वटा वडा परेका छन् । साइड ‘ए’ तिरका डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका सबै वडामा सर्भेको काम सम्पन्न भइसकेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका अनुसरा नेपालगन्ज उपमहानगरपालिकामा सर्वे चलिरहेको छ । कोहलपुरका ८, राप्तीसोनारीका ६, जानकीका ४, बैजनाथका ७ र खजुराका ५ वटा वडा साइड ‘बि’ परेका छन् ।

साइड ‘बि’ तिरका कोहलपुर बाहेक अन्य सबै वडाको सर्भेको काम सम्पन्न भइसकेको छ । कोहलपुरमा पनि सर्भेको काम भइरहेको कोहलपुर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले  जानकारी गराए ।

मङ्सिर ११ गतेबाट सुरु भएको सर्भेको काम यही २८ गतेसम्म सम्पन्न गर्ने लक्ष्य छ । त्यसका लागि अहिले स्वास्थ्यकर्मी, ल्याव र महिला स्वास्थ्य स्वयमसेविकाको टोली घर–घरमा गइरहेको छ। गएको वर्ष पनि बाँकेलाई दुई साइडमा बाँडेर चार ठाउँमा इपिडिमियोलोजिकल मोनिटरिङ सर्भे (इएमएस)को काम गरिएको थियो ।इएमएसमा पास भएपछि यो पटक आइआइएस–आइको काम भइरहेको हो । आइडिए इम्प्याक्ट सर्भे अन्तर्गत अहिले एउटा वडामा १०५ जनाको रक्त नमुना संकलन गरेर जाँच गर्ने काम भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

सो सर्भे अनुसार २० वर्ष उमेर माथिका नागरिकको रक्त नमुना संकलन गर्ने काम भइरहेको छ । र्‍यापिट डाइग्नाेष्टिक टेस्ट (आरडिटी) मार्फत माइक्रोफाइलेरिया फेला परे उनीहरूको फेरि राती दशदेखि २ बजेसम्मको समयमा माइक्रो स्कोपबाट रक्त नमुना जाँच गरी हात्तीपाइले रोगको परिजिवी भए नभएको पुष्टि गर्ने काम भइरहेको स्वास्थ्य कार्यालय बाँकेका ल्याब टेक्निसियन निरीक्षक केशव ज्ञवालीले उल्लेख गरे ।

बाँकेमा निरन्तर १३ वर्षदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान चलिरहेको छ । ६ वर्षमै औषधि अभियान पूरा हुनुपर्ने भए पनि सबैले औषधि नखाइदिएका कारण यो अभियान बाँकेमा निरन्तर चलिरहेको छ ।

  • २६ मंसिर २०८१, बुधबार प्रकाशित

  • Nabintech