बैजनाथ \बाँकेको गाभर भ्याली पछिल्लो समयमा आएर रैथाने उत्पादनको महत्वपूर्ण पकेट क्षेत्र बन्दै गएको छ । स्थानीय र प्रदेश सरकारले रैथाने प्रजातिका अन्नबालीहरूको संरक्षणमा जोड दिँदै नीति तथा कार्यक्रम ल्याएपछि यो क्षेत्रमा रैथाने उत्पादनमा विशेष ध्यान दिइएको हो ।
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमै रैथाने प्रजातिका अन्नबाली संरक्षण कार्यक्रम समावेश गरेकोले बाँके जिल्लाको गाभर भ्यालीमा रैथाने धान उत्पादन सुरु गरिएको छ ।बाँकेयो क्षेत्रमा पाइने घैया, गर्भे र अनदी धानहरू लोप हुने अवस्थामा पुगेपछि बैजनाथ १ गाभर भ्यालीमा अहिले लोपोन्मुख धानका प्रजातिहरूलाई संरक्षण गर्ने अभियान सुरु भएको गाभर भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीले बताएका छन।
गाभर क्षेत्रमा १ बिघाभन्दा बढी क्षेत्रफलमा यस्ता धानको खेती भइरहेको छ । जसमा घैया र तिल्की धान बिउ उत्पादनको लागि लगाइएको छ । भविष्यमा यी रैथाने धानहरूको व्यावसायिक उत्पादन गर्ने योजना रहेको चौधरीले जानकारी गराएका छन।
तिल्की धानको चामल विशेषतः पर्वहरूमा र अतिथि सत्कारका लागि प्रयोग हुने गरेको छ भने अनदी चामल थारु समुदायमा निकै लोकप्रिय छ । घैया धानको चामल स्वास्थ्यका दृष्टिले महत्वपूर्ण मानिन्छ र यसलाई विभिन्न स्वास्थ्यसम्बन्धी समस्याहरूको समाधानको रूपमा पनि हेरिन्छ ।
गाभर भ्यालीमा उत्पादित यी धानहरूलाई संरक्षण गर्ने मात्र नभई व्यावसायिक उत्पादन र बजारीकरणमा पनि ध्यान दिइएको जनाइएको छ ।