६ बैशाख २०८२, शनिबार

राप्तीसोनारीमा १२ सयभन्दा बढीको कानकाे निःशुल्क उपचार
  • न्युज मानसराेवर

बाँके\बाँकेको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिकामा धेरै जनाको कान पाकेको जानकारी प्राप्त भएपछि नेपालगन्जस्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक केन्द्रले त्यहाँ निःशुल्क कान उपचार शिविर आयोजना गरेर १२ सयभन्दा बढीको जाँच गरेको छ ।

ब्रिनोज कान स्वास्थ्य सामुदायिक केन्द्र नेपालगन्जको आयोजना तथा राप्तीसोनारी गाउँपालिकाको समन्वय एवम् आर्थिक सहयोगमा निःशुल्क प्राथमिक कान उपचार शिविर सञ्चालन गरी १२ सय ६५ जनाको निःशुल्क कान जाँच गरिएको हो ।

ब्रिनोज कान स्वास्थ्य सामुदायिक केन्द्रको प्राविधिक टोलीसहित आयोजना गरिएको निःशुल्क उपचार शिविरमा ५८५ जना पुरुष तथा ६८० जना महिला गरी जम्मा १२ सय ६५ जनाको कान जाँच गरिएको वरिष्ठ कान सहायक चिकित्सक तथा आउटरिच इन्चार्ज भिषणकुमार थारुले जानकारी गराए ।

आउटरिच इन्चार्ज भिषणकुमार थारुले दिनुभएको जानकारी अनुसार जम्मा १२ सय ६५ जना महिला पुरुषमध्ये कान पाक्ने रोगबाट ग्रसित १२८ जना भेटिएका थिए । उनीहरुको राम्रो उपचारको व्यवस्था मिलाइएको जनाइएको छ ।

जिल्लाका अन्य पालिकाभन्दा राप्तीसोनारी गाउँपालिकामा स्वास्थ्यसम्बन्धी संस्थाहरुको अभाव रहेको र कानको त कुनै उपचार नै नहुने गरेकाले यो शिविर राख्न अनुरोध गरेर राखिएको गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताए ।

जिल्लामा राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका स्वास्थ्य सेवाबाट करिब करिब बन्चित नै रहेको जनाउँदै निःशुल्क स्वास्थ्य शिविरको भरमा मात्रै स्थानीयले उपचार सेवा पाउँदै आएको छन। ब्रिनोज कान स्वास्थ्य सामुदायिक केन्द्रका चिकित्सक भिषण थारुले जिल्ला भित्र वा जिल्ला बाहिर कही पनि कान चेकजाँच सहकार्य गर्न संस्था सदैव तत्पर रहेको जनाउँदै सहकार्य गर्न कोही इच्छुक भए सम्पर्क गर्न आग्रह गरे । बाँके जिल्लामा अन्य उपचारका लागि धेरै अस्पताल र संस्थाहरु भए पनि कानको उपचारका लागि निकै कम अस्पताल छन् ।

  • २७ मंसिर २०८१, बिहीबार प्रकाशित

  • Nabintech