३ जेष्ठ २०८२, शुक्रबार

खाद्यले किन्यो नौ करोड बढीको मूल्यको धान
  • न्युज मानसराेवर

बाँके\खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानहरूसँग नौ करोड रुपियाँभन्दा बढीको धान खरिद गरेको छ ।

गत कात्तिक २० गतेबाट किसानका धान खरिद गर्न लागेको नेपालगन्ज कार्यालयले मङ्सिर ३० गतेसम्म बाँकेका किसानहरूसँग नौ करोड ७७ लाख २३ हजार २४९ रुपियाँको धान खरिद गरेको हो ।

कात्तिक २० गतेदेखि मङ्सिर ३० गते सम्मको समय अवधिमा खाद्यले २७ हजार ४९२ दशमलव ४४ क्विन्टल धान खरिद गरेको छ । जसमध्ये मोटा धान ४२१३।३४ क्विन्टल र मध्यम धान २३२७९।१० क्विन्टल धान खरिद गरेको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले जानकारी गराए ।

सूचना अधिकारी घिमिरेका अनुसार मोटा धान एक करोड ४३ लाख ६९ हजार ६३८ रुपियाँ र मध्यम धान आठ करोड ३३ लाख ५३ हजार ६११ रुपियाँ गरी कुल नौ करोड ७७ लाख २३ हजार २४९ रुपियाँको धान खरिद गरिएको हो ।

हालसम्म धान बिक्री गर्नका लागि ६७३ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गराएको घिमिरेले जानकारी दिए । उनका अनुसार सिफारिस दर्ता गराएका मध्ये ४८२ जना किसानसँग धान खरिद गरिएको छ । साथै चार वटा सहकारीमार्फत पनि धान खरिद गरिएको उनले भने । चार वटा सहकारीमार्फत मोटा धान २२४।५८ क्विन्टल र मध्यम धान ८३९।२८ क्विन्टल गरी १०६३।८६ क्विन्टल धान खरिद गरिएको छ । ४८२ जना किसान र चार वटा सहकारीमार्फत गरी हालसम्म २७४९२।४४ क्विन्टल धान खरिद गरिएको हो ।

मोटा धानको तीन हजार ४१० रुपियाँ ५१ पैसा र मध्यम धानको तीन हजार ५८० रुपियाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा किसानसँग धान खरिद गरिरहेको सूचना अधिकारी घिमिरेले बताए ।

गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगन्ज कार्यालयले यस वर्ष ४० हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएको थियो तर मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्ने गरी ५५ हजार क्विन्टलको लक्ष्य लिएको छ ।

३० हजार क्विन्टल मोटा धान र १० हजार क्विन्टल मध्यम गरी यस वर्ष ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगन्ज कार्यालयले पछि मध्यम धानलाई १५ हजार क्विन्टल थप गरी ५५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जका मुख्य शाखा प्रमुख रामशरण लामिछानेले  जानकारी गराए ।

पहिला पहिला किसानहरू १५ दिनसम्म खाद्यमा आएर लाइन लागेर बस्नुपर्ने बाध्यता भएका कारण यस वर्ष धान ल्याउन पूर्व नै स्थानीय तहको सिफारिस ल्याएर दर्ता गर्ने र कार्यालयले दिएको समयमा किसानहरू आएर धान बिक्री गर्ने व्यवस्था मिलाएको कार्यालयले जनाएको छ । यसो गर्दा किसानहरू लाइन लागेर बस्नुपर्ने बाध्यता नहुने र समय पनि बचत हुने गरेको कार्यालयको भनाइ छ ।

  • १ पुष २०८१, सोमबार प्रकाशित

  • Nabintech