२८ चैत्र २०८१, शुक्रबार

सकियो लुम्बिनी महोत्सव
  • न्युज मानसराेवर

बाँके\रुपन्देहीको भैरहवामा आयोजित नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सम्पन्न भएको छ । सुस्ताएको अर्थतन्त्र र बजारलाई चलायमान बनाउने उद्देश्यसहित सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजना मंसिर २० देखि पुस १ गतेसम्म महोत्सव सञ्चालन भएको थियो ।

महोत्सवमा क्रेता-विक्रेताबीच प्रत्यक्ष भेटघाट भएको र यसले उद्योगी–व्यवसायी र उपभोक्ताबीचको सामिप्यतालाई अझै प्रगाढ बनाएको आयोजकले जनाएका छन् ।

‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सव आन्तरिक र भारतीय गरी करिब ३ लाख दर्शकले अवलोकन गरेको र करिब १० करोड रुपैयाँको कारोबार भएको आयोजक संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले सबै उत्पादनको एकै थलोमा प्रदर्शनी गरिँदा आर्थिक क्षेत्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुग्ने बताए । उनले मुलुकको समृद्धिको आधार पर्यटन क्षेत्र भएको बताउँदै ऐन, कानून सुधार र परिमार्जन गरेर भए पनि पर्यटकीय वातावरण बनाउनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले विशिष्टीकृत मेला महोत्सवले आर्थिक गतिविधिलाई बढावा दिने बताए ।उनले राजनीतिक स्थिरता नहुँदा उद्योगी-व्यवसायी, आमनागरिकले समस्या भोगिरहेको जनाउँदै यस्तै अवस्था रहे सरकार पनि कठिन मोडमा पुग्न सक्ने बताए ।

लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयले अहिले निजी क्षेत्र निराश बनिरहेको जनाउँदै पर्यटनका माध्यबाट यसलाई माथि उकास्नु पर्नेमा जोड दिए ।संघका महासचिव कृष्णप्रसाद घिमिरेले महोत्सवमा मुलुकका ४० जिल्लाका उत्पादन प्रदर्शनी गरिएको बताए । समापनमा र्‍याली, स्टल, भैरहवा आइडल, भ्वाइस अफ भैरहवा, मेहन्दी प्रतियोगिता, विद्यालयस्तरीय नृत्यमा उत्कृष्ट भएकालाई नगदसहित पुरस्कृत गरिएको थियो ।

  • १ पुष २०८१, सोमबार प्रकाशित

  • Nabintech