बाँके\बाँकेमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत आर्थिक वर्षभन्दा यसवर्ष धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । गत वर्षभन्दा धान खेती गर्ने क्षेत्रफल घटेपनि उत्पादनमा भने वृद्धि भएको हो ।
कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले गत वर्षभन्दा यस वर्ष जिल्लामा धान उत्पादन बढेको जानकारी गराएका छन। उनले भने अनुसार गत वर्षभन्दा यसवर्ष धान खेती गरेको क्षेत्रफल घटेपनि उत्पादन भने बढेको हो ।
यस वर्ष ३४ हजार ५०२ हेक्टर जमिनमा धान खेती गरिएको थियो । उक्त क्षेत्रफलमा एक लाख ५१ हजार आठ सय आठ दशमलव ८० मेट्रिक टन धान उत्पादन भएको हो । प्रति हेक्टर ४.४० मेट्रिक टनका दरले उत्पादकत्व रहेको उल्लेख गरेका छन।
गतवर्ष ३४ हजार ६७५ हेक्टर जमिनमा धान खेती भएको थियो, यसवर्ष भने ३४ हजार ५०२ हेक्टर जमिनमा धान खेती गरिएको थियो ।
गत आवभन्दा यसवर्ष ४.२४ प्रतिशतका दरले धान उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सिँचित क्षेत्र विस्तार, हाइब्रिड जातको खेतीमा वृद्धि, बीउ प्रतिस्थापन दर वृद्धि र उपयुक्त मौसमका कारण धान उत्पादनमा वृद्धि भएको हो ।