बर्दिया : परराष्ट्रमन्त्री डा.आरजु राणाले सीमावर्ती नाकामा छोटी भन्सार कार्यालय स्थापनाका लागि पहल गरिने प्रतिबद्धता जनाएकी छन् । कैलालीबाट फर्किने क्रममा आइतबार बर्दियाको ठाकुरबाबा नगरपालिकामा पुगेकी उनले पत्रकारहरुको जिज्ञासामा यस्तो बताएकी हुन् ।
उनले बर्दियालगायत भारतीय सीमासँग जोडिएको जिल्लाका नाकाहरुमा देखिएका समस्याहरु समाधान हुने बताइन् । डा. राणासँग ठाकुरबाबा र मधुवन नगरपालिकाका प्रमुख र जनप्रतिनिधिले राखेको प्रश्नको जवाफ दिँदै सीमावर्ती क्षेत्रको समस्या चाँडै समाधान हुने जानकारी दिइन् ।
उनले नाकामा छोटी भन्सारहरु खुलाउने विषयमा जनप्रतिनिधिहरुले महत्वपूर्ण विषय उठाएको जानकारी दिँदै यसका लागि पहल गर्ने प्रतिबद्धता जनाइन् । बर्दियाको भुरीगाउँ, तेलपानी हुँदै सुर्खेत सडक निर्माणको आयोजनाबारे राखिएको जिज्ञासामा बोल्दै मन्त्री राणाले विकास निर्माणका यस्ता योजनाका लागि ठुलो रकम आवश्यक पर्ने देखिएको र सरकारसँग बजेट थोरै रहेकाले समय लाग्ने गरेको बताइन् ।
विश्व बैंक र एशियाली विकास बैंकका विकास आयोजनाहरु बर्दिया ल्याउन आफूले पहल गर्ने उनको भनाइ थियो । सो अवसरमा मानव वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणका लागि जङ्गल किनारमा हात्ती छेकबार पर्खाल निर्माणका लागि थप बजेट बढाउनुपर्ने, पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको राजमार्गमा आकाशेपुल बनाउनुपर्ने, विश्व बैंक र एसियाली विकास बैंकका विकासका योजनाहरु ठाकुरबाबा र मधुवन नगरपालिकासहित बर्दिया जिल्लाका अन्य पालिकामा लागू गराउन पनि मन्त्री राणासँग आग्रह गरिएको थियो ।