१८ पुष २०८१, बिहीबार

तराईमा शीतलहर : स्थानीय सरकारको बेवास्ता

विपन्न परिवारलाई शीतलहर र चिसोबाट जोगाउन सरोकारवाला निकायको पूर्वतयारी कमजोर

  • न्युज मानसराेवर

नेपालगञ्ज : बाँकेलगायत तराईका जिल्लामा सोमबारदेखि शीतलहर चल्न थालेपछि चिसो बढेको छ । शीतलहरका कारण जनजीवनसमेत प्रभावित बनेको छ । चिसोबाट सबैभन्दा बढी आर्थिक अवस्था कमजोर भएका विपन्न परिवार प्रभावित बनेका छन् ।  उनीहरू आगो बालेर चिसो छल्ने गरेका छन् । तर विपन्न परिवारलाई शीतलहर र चिसोबाट जोगाउन सरोकारवाला निकायको पूर्वतयारी कमजोर देखिएको छ ।

अधिकांश विपन्न परिवार दैनिक मजदुरी गरी घर व्यवहार चलाउँदै आएका छन् । त्यसमा पनि अशक्त र असहायको अवस्था कहालीलाग्दो छ । विगतमा शीतलहरका बेला चिसोले कठ्याग्रिएर मानिसको मृत्युसमेत भएको छ ।

डुडुवा गाउँपालिका–२ का स्वामी यादवले शीतलहरका बेला न्यानो ओढ्ने ओछ्याउने लत्ताकपडा, तातो र पोषिलो खानाको अभावमा विपन्न समुदायको जनजीवन कष्टपूर्ण बनेको बताए । विपन्न परिवारलाई चिसोबाट जोगाउन यस वर्ष कुनै पनि निकायबाट राहत प्राप्त नभएको उनले जानकारी दिए । “जाडो बितेपछि राहत दिएर के काम ? विपन्न परिवार अहिले समस्यामा छन् । जाडोको समयमा परालको आगो ताप्छन तर कसैले दाउरासमेत उपलब्ध गराउँदैनन”, उनले भने ।

सोही ठाउँका रामभरोसेले जाडोमा आफूहरुले परालको आगो ताप्ने गरेपनि दाउरा कतैबाट उपलब्ध नभएको बताए । मानिसको ज्यानै जान थालेपछि मात्र यहाँ राहत लिएर जाने प्रवृति छ । यस्ता घटना हुनुअघि नै तीनै तहका सरकार समन्वय गरी विपन्नको जीवनरक्षाका लागि समयमै कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ ।

यस्तै डुडुवा गाउँपालिका वडा नं. ६ का जयपाल मौर्यले चिसोयामको पूर्व तयारी कुनैपनि निकायबाट नदेखिएको बताए । जाडो सकिन लाग्दा मात्र दाउरा वितरण गर्ने स्थानीय सरकारको चलनप्रति उनले दुःखेसो पोखे ।

चिसोयाम शुरु हुनै लाग्दा स्थानीय सरकारले नागरिकको जीवन रक्षाका लागि आगो ताप्ने व्यवस्था गर्नुपर्नेमा डुडुवाका प्रमुख नरेन्द्र चौधरीले कुनै वास्ता नगरेको भन्दै डुडुवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्रले रोष ब्यक्त गरे । घरघरमा दाउरा वितरण नगरेपनि चौकचौकमा आगो बाल्ने व्यवस्था गरिदिए स्थानीयलाई राहत हुने उनले बताए । जाडोको चपेटामा सबैभन्दा बढी विपन्न परिवार पर्ने गरेको भन्दै वडाध्यक्ष मिश्रले त्यस्ता नागरिकलाई न्यानो कपडाको व्यवस्था गरिदिए उनीहरुलाई जीविका चलाउन अलि सहज हुने जिकिर गरे ।

  • १५ पुष २०८१, सोमबार प्रकाशित

  • Nabintech