१९ पुष २०८१, शुक्रबार

धेरै सङ्घर्ष अनि थोरै सफलताको कथाः बुह्रानमा
  • शुभम देवकोटा

बाँके\बुह्रान महानन्द ढकालद्वारा लिखित सत्य घटनाबाट प्रेरणा लिएर लेखिएको एक उपन्यास हो । यो उपन्यास साङ्ग्रिला बुक्सद्वारा पहिलोपटक २०७९ सालमा र दोस्रोपटक २०८१ सालमा बजारमा आएको हो । यस किताबमा थारू जाति र पहाडी भेगका मानिसहरूको दुःखको कथा देखाएको छ ।
बुह्रान मलाई एकदमै मन परेको उपन्यासमध्ये एक हो किनभने यस एक उपन्यासभित्र नेपालमा दुःख भोगेका दुईवटा समुदायका मानिसहरूको बारेमा लेखिएको छ । जहाँ पहिलो आउँछन् थारू समुदायका मानिसहरू र अर्को भनेको पहाडी मानिसहरू । पहाडमा पनि विशेषगरी स्याङ्जा दुर्गम ठाउँको । यस पुस्तकमा दुईवटा मुख्य पात्रको जीवनका दुःखहरू र कसरी तिनीहरूले त्यो सङ्घर्षलाई लडेर अगाडि बढे जस्ता कुरालाई एकदम रोचक र आत्मबल दिने तरिकाले लेखिएको छ। जसमा पहिलो छन् महिला दाइ । जुन दाङका थारू हुन् र अर्की हुन् पार्वती जो पहाडबाट तराईतिर बसाइँसराइँ गरेकी हुन् । यो उपन्यास मुख्यतः यही दुई पात्रहरूमा घुमिरहन्छ ।

मलाई विशेषगरी मन परेको माइला दाइको कथा हो । किनभने म आफै पनि दाङ जिल्लाको बासिन्दा हुँ ।मैले थारूहरूको समुदायलाई नजिकबाट देखेको छु । दाङमा नेपालमै तेस्रो नम्बरमा सबसे धेरै थारूहरू बस्ने गर्दछन् । अनि यस पुस्तकबाट मैले आफ्नै ठाउँको बारेमा नयाँ ज्ञान पनि पाएँ । थारू समुदाय दाङबाट आएको रहेछ । थारूहरूले दाङको त्यो जङ्गललाई काटेर बस्ने लायक बनाएका रहेछन् । दाङ एउटा जमिन्दारले भरिएको जिल्ला हो । अहिले र त्यो सुरु नै थारूहरूको जमिन हडप्ने तिनीहरूलाई ऋण दिएर तिनीहरूबाट नै आफ्नो जमिनहरू उब्जाउने र अरु कामहरू गराउनेबाट सुरु भएको रहेछ । 

पुस्तकमा देखाएको धेरै कुराहरू एकदमै सत्य छ । त्यति मात्र नभएर अहिलेसम्म पनि त्यस्ता नराम्रा प्रथाहरू दाङमा प्रचलित छन् र मैले आफै पनि देखेको छु, जहाँ यस उपन्यासले कमैया, बटैया जस्ता कुप्रथाहरूलाई धिक्कार गरेर र कसरी त्यस्ता कुराहरूले यी थारू समुदायका मानिसहरूलाई जीवनमा अगाडि बढ्न नदिने बन्धन बनेर बसेको छ । त्यस कुरालाई देखाएको छ । 

थारूहरू दाङबाट धेरै हेपाइ र अत्याचार सहन नसकेर धेरै बुह्रान पुगेका रहेछन्, जसको अर्थ पानीले भिज्ने जमिन हो तर सामान्यः बुह्रान भनेर बर्दियाको जग्गालाई नै बुझिन्छ । म दाङको बासिन्दा भए पनि मेरो बुढो मामाघर बर्दिया नै हो । मैले बर्दियाका थारूको स्थिति पनि देखेको छु । उपन्यास त भन्या जस्तो कठिन नभए तापनि अहिलेसम्म पनि थारूहरूलाई आफ्नो आवाज उठाउन नपाउने र ठगिने जस्ता नराम्रो कामहरूलाई दुःख दिइरहन्छ । थारूहरू शारीरिक हिसाबले एकदमै बलिया भएकाले उनीहरूले खेती एकदमै राम्ररी गर्छन् त्यसैकारण अहिलेसम्म पनि थारूहरूलाई बटैया प्रथामा भएको देखिन सकिन्छ । 

अब कुरा गरौँ पार्वतीको जो पात्रले एकदमै धेरै दुःख पाएकी छन् । उपन्यासमा १४ वर्षको उमेरमा विवाह हुने, सन्तानहरू मर्ने बुढो पनि मर्ने जस्ता कठिन स्थितिबाट गुर्जेर उनी अगाडि बढेकी छिन् । स्याङ्जाकी बासिन्दा भएर उनी खेतीपाती र कृषि राम्रो हुने आशामा बर्दिया झरेकी थिइन् र त्यहाँ एकदम दुःख पाएर पछि  मेहनत परिश्रमका कारणले राम्रो जमिन र खेतीपाती राम्ररी गर्न सक्ने भएकी छिन् । 

मलाई यस पुस्तकको सबैभन्दा मन परेको कुरा भनेको दुई पात्रको आआफ्ना कठिनाइहरू र आआफ्नो कथा भएर पनि उनीहरू एक अर्काको जीवनमा कसरी सहयोग पुर्याउन सके र कसरी एकअर्काको कथामा जाेडिन सके भन्ने हो । जहाँ पार्वतीले आफूले दुःख भोगेको र अलि पढेलेखेकाे भएकोले माइला दाइलाई कमैया प्रथाबाट छुट दिने र उसलाई आफ्नो घर चलाउनलाई काम दिने जस्तो राम्रो कुराहरू गरेकी छिन् । 

उपन्यासको अर्को विशेषता भनेको लेखकले जिन्दगी देखाए पनि र तिनीहरूको संस्कृतिलाई बढावा दिने जस्तै माघी पर्व र तिनीहरूको रहनसहन देखाउनुका साथसाथै तिनै संस्कृतिमा लुकेका नराम्रा कुराहरू पनि देखाएका छन् । जसमध्ये दुई हुन् थारू जातिमा बिहे गर्दा र माघी जस्ता पर्वहरूमा सक्नुभन्दा धेरै पैसा खर्च गर्ने र पार्वतीको चाहिँ मानिस समझदार भए पनि बालबच्चाहरू एकदमै धेरै पाउने जस्ता नराम्रा कुरालाई पनि लेखकले एकदम राम्रो तरिकाले ढालेका छन् । 

पुस्तकमा केही कुरा नराम्रो पनि लाग्यो मलाई तीमध्ये एक हो । निङ्मा पात्रको कथा जुन मलाई एकदमै फिका फिका र निङ्मा पात्र नभएर यस उपन्यासलाई खासै असर नपर्ने जस्तो महसुस भयो र कतिपय पाठहरू एकदमै लामो तन्काएको र चाहिने भन्दा धेरै कुराहरूको वर्णन गरेको जस्तो पनि महसुस भयो । 

यति भन्दै बुह्रान मलाई एकदमै रोचक लागेको उपन्यास हो । त्यसमा म आफै दाङको र थारू संस्कृति देखेको हुनाले पनि हुनसक्छ । त्यही पनि मैले यस पुस्तक सबै उमेरका मानिसलाई र विशेषगरी काठमाडौँ बस्ने मानिसहरू, जसले यस्ता दुःखहरू नभोगे पनि देखेका पनि
छैनन् । उनीहरूलाई एक नयाँ अनुभव र नेपालमा अझै पनि एकदम विकट ठाउँहरू छन् भन्ने कुरा बताउनलाई पनि यस पुस्तक पढ्न मैले सुझाव गर्दछु ।

देवकोटा कक्षा १२  डियरवाक सिफल स्कुल काठमाडौंमा अध्ययन गर्छन। 

 

  • १६ पुष २०८१, मंगलवार प्रकाशित

  • Nabintech