२१ पुष २०८१, आईतवार

कर्मचारीद्वारा आन्दोलन चर्काउने चेतावनी
  • न्युज मानसराेवर

बाँके\नेपालगन्ज मेडिकल कलेजका आन्दोलनरत कर्मचारीले नेपालगन्ज मेडिकल कलेजको नाम र बोर्ड हटाएर अस्पताल व्यवस्थापन पक्षले रातारात सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको नाम र बोर्ड झुन्ड्याइएको घटनाप्रति विरोध जनाएका छन् ।

कर्मचारी आन्दोलन परिचालन समितिले अस्पताल व्यवस्थापन पक्षले शान्तिपूर्ण रूपमा आन्दोलनरत कर्मचारीलाई थप आक्रोशित पार्ने काम गरेको जनाउँदै अब आन्दोलन झन् चर्किने चेतावनी दिएको छ ।

आन्दोलन परिचालन समितिका संयोजक रत्ना गिरीले कर्मचारीको आन्दोलनको टुङ्गो नलगाई हठात संस्थाको नाम परिवर्तन गर्ने र थप कर्मचारी माग गर्ने कार्य कानुनविपरीत भएको बताइन। उनले अस्पताल व्यवस्थापनको यस्तो कार्यले आन्दोलन झन् चर्किने र अस्पतालका सबै सेवा बन्द गर्न बाध्य हुने उल्लेख गरिन।

यसै गरी आन्दोलनका अर्का अगुवा सुमन श्रेष्ठ गिरीले पनि सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको कानुनी वैधतामाथि प्रश्न गरे । उनले व्यवस्थापन पक्षको निर्णय मेडिकल माफिया प्रवृत्ति जस्तै भएको जनाउँदै सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि दर्ता नै नभएको जिकिर गरिन। नेपालगन्ज मेडिकल कलेजमा बोर्ड राख्ने अधिकार सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिलाई नभएको पनि श्रेष्ठ गिरीको भनाइ छ ।

आन्दोलन समितिका सहसंयोजक यमबहादुर खड्काले व्यवस्थापन पक्षले हचुवाका भरमा रातारात बोर्ड फालेर सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको बोर्ड राख्नु कर्मचारीलाई आक्रोशित बनाउने खेल भएको बताए । खड्काले नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज र कोहलपुर शिक्षण अस्पतालका कर्मचारीमा फाटो ल्याउन खोजिएको भन्दै त्यसो हुन नदिने चेतावनी समेत दिएका छन।
त्यसै गरी आन्दोलनरत कर्मचारीको अगुवाइ गर्दै आएकी अनिता थापाले कुनै पनि हालतमा आन्दोलन नरोकिने चेतावनी उल्लेख गरिन। थापाले रातारात अस्पतालमा सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको नाम र बोर्ड लगाएर पैसाका भरमा कानुन हातमा लिएको आरोप पनि लगाइन। आन्दोलनरत कर्मचारीले जारी आन्दोलन नरोकिने चेतावनी दिँदै आन्दोलन झन् चर्को पार्ने दाबी गरेका छन् ।

  • १९ पुष २०८१, शुक्रबार प्रकाशित

  • Nabintech