बाँके\चिठी वा सरकारी दस्तावेज सिल गर्न, हतियारको बिँडमा, गरगहना भर्न लगायतमा प्रयोग हुने बस्तु लाहाको पछिल्लो समय बाँकेमा खेती विस्तार गरिएको छ ।
भारतबाट आयात हुने लाहाको नेपालमा पहिलो पटक खेती विस्तार भएको हो । डिभिजन वन कार्यालय बाँकेले विज्ञसहितको टोलीको सहभागितामा लाहा खेती विस्तार गरेको हो । विज्ञहरूको समूहसहित रूखका हाँगामा पहिलो पटक लाहा उत्पादन गर्ने लाहा किरा (भ्रुण) छाडिएको छ ।
डिभिजन वन कार्यालयले कोहलपुर–१२ स्थित सिर्जना सामुदायिक वनमा खेती सुरु गरेको हो । वन उपभोक्ता समूहमा २५ केजी बिउ लगाइएको छ । यस्तै राप्तीसोनारी गाउँपालिकाको जलनधारा र झिजरी महिला सामुदायिक वन उपभोक्ता समूहमा पनि खेती विस्तार गरिएको छ । २५ वर्षदेखि लाहा खेतीमा लागेका विज्ञ डम्मर विश्वकर्माका अनुसार विशेष रुखका नरम हाँगामा टाँसिएर त्यही हाँगाको रस चुसेर आफ्नो जीवनचक्र पूरा गर्ने परजीवीलाई लाहा भनिन्छ । लाहाको कच्चा पदार्थ प्रतिकेजी एक हजार रुपैयाँसम्म बिक्री हुने गरेको विश्वकर्माले बताए । प्रशोधनपश्चात् प्रतिकेजी दुई हजारसम्ममा बिक्री हुने उनको भनाइ छ ।