कर्णाली डेक्स\तीन हजार बढी दुग्ध उत्पादक किसानलाई कर्णाली प्रदेश सरकारले प्रोत्साहनका लागि रू एक करोड २३ हजार उपलब्ध गराएको छ । प्रदेश सरकारले विनियोजित रकमबाट सात जिल्लाका दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरूप बैंक खातामार्फत भुक्तानी गरिएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ कर्णालीका तीन हजार सात ७६ जना दुग्ध उत्पादक किसानलाई उक्त रकम दिइएको थियो । गत आर्थिक वर्षमा प्रदेशभर उत्पादन भएको ३७ लाख ९१ हजार चार सय २९ लिटर दूध उत्पादत भएको थियो ।
मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ देखि कर्णालीका दूध उत्पादक किसानलाई उत्पादका आधारमा प्रोत्साहन रकम दिने निर्णय गरेअनुसार रकम वितरण हुँदै आएको छ । कर्णालीका दश जिल्लामा दुई प्रकारका मापदण्ड बनाएर अनुदान दिइँदै आएको छ । साविकको कर्णालीका कालीकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पाका किसानलाई प्रतिलिटर रू १० उपलब्ध हुने गरेको छ ।
त्यस्तै साविकको भेरीका जाजरकोट, दैलेख, सुर्खेत र राप्तीका रूकुम पश्चिम, सल्यान किसानलाई प्रतिलिटर पाँच रूपैयाँका दरले अनुदान रकम दिने मापदण्ड बनाइएको छ । सबैभन्दा बढी प्रोत्साहनबापत पाउनेमा सुर्खेत रहेको छ । सुर्खेतमा दुई हजार ४१ किसानलाई २८ लाख ४८ हजार आठ सय ७५ लिटर दूधबापतको रू उनान्चास लाख २९ हजार अनुदान उपलब्ध गराएको छ ।
यस्तै, सल्यानका ६ सय ६१ किसानलाई प्रोत्साहनबापत तेह्र लाख ३४ हजार चार सय ८० रूपैयाँ प्रदान गरिएको छ । गत वर्ष सल्यानमा दुई लाख ६६ हजार आठ सय ९५ लिटर दूध उत्पादन भएको थियो । रूकुम पश्चिमका चार सय ७७ जना किसानले उत्पादन गरेको तीन लाख दुई हजार एक सय ८७ लिटर दूधबापत रू १५ लाख वितरण गरिएको छ ।
जाजरकोटमा ७१ जना किसानलाई चार लाख २२ हजार प्रदान गरिएको छ । जाजरकोटमा गत वर्ष ८४ हजार ४ सय ६ लिटर दूध उत्पादन भएको थियो । दैलेखमा दुई लाख १० हजार पाँच सय ३० लिटर दूध उत्पादन गर्ने चार सय ३४ जना किसानलाई अनुदानबापत रू दश लाख ५३ हजार प्रदान गरिएको छ ।
कालीकोटमा ७० हजार लिटर दूध उत्पादन गर्ने एक सय चार जना किसानलाई सात लाख अनुदान पाएका छन् । हुम्लाका आठ जना किसानलाई आठ हजार पाँच सय ३६ लिटर दूधबापत ८५ हजार प्रदान गरिएको छ । मुगु र डोल्पामा अनुदान दिन रू सात लाख विनियोजन गरिएको भए पनि यी जिल्लामा उत्पादन भएको दूधबारे जानकारी नआएको पशुपक्षी विकास निर्देशनायका कार्यालय प्रमुख कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए । यी दुई जिल्लामा दूध डेरी तथा सहकारीले दूध बिक्री गरेको नपाइएपछि त्यहाँको विवरण नआएको उनले बताए ।
जुम्लामा दूध डेरी भए पनि किसानलाई रकम उपलब्ध गराउँदा आर्थिक हिनामिना हुने अवस्था आएपछि रकम वितरण नगरिएको पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र बुढ थापाले जानकारी दिए । चालु आर्थिक वर्षमा यही शीर्षकमा प्रदेश सरकारले रू एक करोड २७ लाख बजेट व्यवस्थापन गरेको उनले बताए ।
कर्णाली प्रदेशभर वार्षिक गत आर्थिक वर्ष २०८०/८१ मा ७१ हजार दुई सय १७ मेट्रिकटन दूध उत्पादन भएको छ । मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार दुई लाख १७ हजार पाँच सय ९७ दहुना गाईभैँसीबाट उक्त मात्रामा दूध उत्पादन भएको हो ।
आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथ्याङ्कअनुसार प्रदेशभर ६ लाख एक हजार पाँच सय १० गाई रहेकामा एक लाख १० हजार दुई सय २८ गाई दुहुना रहेका थिए । यस्तै, भैँसी र राँगाको सङ्ख्या दुई लाख ९५ हजार दुई सय ५२ रहँदा एक लाख सात हजार तीन सय ६९ भैँसी दुहुना रहेको मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा गाईको दूध उत्पादन २४ हजार सात सय ६० मेट्रिकटन र भैँसीको दूध उत्पादन ४६ हजार पाँच सय ५७ मेट्रिकटन गरी जम्मा ७१ हजार दुई सय १७ मेट्रिकटन दूध उत्पादन भएको छ । कर्णालीमा एक सय ८० मेट्रिकटन दूध आयात गर्दा एक रू करोड ३७ लाख बाहिरिएको छ ।
कर्णालीमा लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लाबाट दूध आयात हुने गरेको छ । कर्णाली प्रदेशबाट ६ हजार चार सय १५ मेट्रिकटन दूध निर्यात गरेर रू ४२ करोड ९२ लाख ५० हजार निर्यात भएको छ ।