बाँके\लुम्बिनी प्रदेश सरकारले माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा माघी मिलन कार्यक्रम गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा बुधबार माघी मिलन कार्यक्रमको आयोजना गरेको हो ।
थारु, मगर, नेवारलगायतका समुदायको सांस्कृतिक पहिचान झल्कने झाँकीसहित प्रदेश सरकारले भव्य रूपमा माघी मिलन कार्यक्रम गरेको छ । थारु समुदायको रैथाने खानाहरूको प्रवर्द्धन गरिएको छ । ढिक्री, खरिया, बरिया, फुलौरी लगायतका परिकारहरू समेत पस्किएको छ ।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक कला संस्कृतिको संरक्षण सँगै त्यसलाई आय आर्जनसँग जोड्ने गरी प्रदेश सरकारले कार्यक्रम बनाएको बताए । उनले माघे सङ्क्रान्ति तथा माघ साझा पर्व भएको उल्लेख गर्दै प्रदेशमा भावनात्मक सम्बन्ध बलियो बनाउन र थप एकता कायम गर्न मद्दत गरेको बताए ।
सभामुख तुलाराम घर्ती मगरले माघी साझा पर्व भएकाले यसले मौलिक कला संस्कृति संरक्षण गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए ।