बाँके\लुम्बिनी प्रदेश, कृषि निर्देशनालय बुटवलमा कार्यरत बिउ निरीक्षक तथा विश्लेषक जेदुराम घिमिरेलाई हालै भैरहवास्थित कृषि बिउ बिजन प्रयोगशालामा खटाइएको छ ।तोरीको बिउ परीक्षण गरेर सकेका घिमिरे अब गहुँको बिउ परीक्षण गर्ने तयारीमा छन् ।
लुम्बिनी प्रदेशभरि उनको कार्यक्षेत्र हो । बिउ परीक्षणका लागि कम्तीमा दुई पटक फिल्डमा अनिवार्य जानुपर्ने भन्दै प्रदेशभरि एक्लै खट्नुपर्दा निकै गाह्रो हुने उनले बताए ।
खजुरा बिउ बिजन प्रयोगशाला बाँकेमा कार्यरत बिउ निरीक्षक तथा विश्लेषक अनिल चौधरीलाई पनि उस्तै समस्या छ । बिउ कम्पनीहरूले ल्याएको मूलबिउ परीक्षण तथा प्रमाणीकरणका लागि सरकारले तोकिएका बिउ बिजन अधिकारी लुम्बिनी प्रदेश सरकार मातहत जम्मा ३ जना छन् ।बिउ बिजन प्रयोगशाला भैरहवामा घिमिरे, बिउ बिजन प्रयोगशाला खजुरा (बाँके)मा चौधरी र कृषि मन्त्रालयमा बिउ निरीक्षक तथा विश्लेषक अर्जुन प्रसाद खनाल छन् । यी तीन जनाले प्रदेश सरकार मातहत बिउ निरीक्षक तथा विश्लेषकको काम गर्नुपरेको छ ।
जनशक्ति निकै कम भएकाले प्रदेशभरि हेर्न समस्या रहेको खनाल बताउँछन् । उनले भने, ‘हामी तीन जना छौँ । संघीय सरकारबाट एक जना सुदिप देवकोटा हुनुहुन्छ । तर उहाँ परियोजना अन्तर्गत भएकाले प्रदेशले उहाँलाई आग्रह गर्नमात्र सक्छ, निर्देशन दिन सक्दैन ।’
बिउ निरीक्षक र बिउ विश्लेषकहरू बिउ निरीक्षणका क्रममा खेती भएकै ठाउँमा जानुपर्ने हुन्छ । प्राविधिक जनशक्तिको अभाव रहेकाले अहिले धेरै किसानको खेतबारीमा पुग्न नसकेको बिउ निरीक्षकहरू बताउँछन् ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं कृषिमन्त्री दिनेश पन्थीले उक्त विषय अध्ययन गरेको जनशक्ति कम रहेकाले समस्या भएको बताए ।
रुपन्देहीको सियारीमा रहेको ज्ञान विज्ञान बिउ उत्पादक कृषि सहकारी संस्थाले लामो समयदेखि विभिन्न बालीका बिउ उत्पादन, प्रशोधन, बिक्री वितरण गर्दै आएको छ । सो सहकारीका अध्यक्ष डोलाराज शर्माले गहुँको बिउका लागि किसानहरूले बिउ निरीक्षक नपाउँदा समस्या भएको बताए । सरकारी निरीक्षक नपाउँदा निजी निरीक्षकबाट भए पनि बिउ परीक्षण गराउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
राधाकृष्ण बिउ बिजन उत्पादक संस्थाका अध्यक्ष तथा जिल्ला बिउ उत्पादक समन्वय समिति रुपन्देहीका सचिव रमेश सिंह मिश्रले बिउ उत्पादक किसानहरूलाई सास्ती भइरहेको बताए । अधिकांश बिउ उत्पादक संस्था, सहकारी, फर्महरूले फिल्ड निरीक्षक, प्रमाणीकरण तथा प्रयोगशाला परीक्षण हुन नसक्दा समस्या झेल्नुपरेको उनको भनाइ छ ।
प्रदेशभरि निजी क्षेत्रमा ३२ जना बिउ निरीक्षक छन् । तर उनीहरू कहाँ छन् भन्नेबारे किसानलाई जानकारी नहुँदा बिउ उत्पादनमा समस्या भएको मिश्रले बताए । उनले भने, ‘बिउ उत्पादक किसानले बिउ निरीक्षक फेला पार्न सक्दैनन् । गुणस्तरीय बिउ उत्पादन हुन नसक्दा भारतबाट बिउ ल्याएर खेती गर्नुपर्ने अवस्था बढ्दो छ ।’
जिल्ला बिउ उत्पादक समन्वय समितिका अध्यक्ष शिवराम न्यौपानेका अनुसार लुम्बिनी प्रदेशका ३ वटा जिल्ला रुपन्देही, कपिलवस्तु र नवलपरासी खाद्यान्न बालीको बिउ बिजन उत्पादनको हब मानिन्छ । निरीक्षक र प्राविधिकको माग गर्दै जिल्ला बिउ उत्पादन समन्वय समिति रुपन्देहीले कृषि मन्त्रालयमा ज्ञापनपत्र समेत बुझाएको उनको भनाइ छ ।
लुम्बिनी प्रदेश कृषि निर्देशनालयका वरिष्ठ कृषि प्रसार निर्देशक रामप्रसाद पाण्डेले बिउ उत्पादनका लागि लुम्बिनी प्रदशेमा केही ठुला र राम्रा कम्पनी भएको उल्लेख गर्दै अहिले भएको जनशक्तिकै अधिकतम प्रयोग गर्ने र नयाँ जनशक्ति पनि खोजी गरिने बताए ।