आजको युग सूचना र प्रविधिका हिसाबले उच्चतम देखिन्छ। प्रविधिको विकाससँगै त्यसको लाभ नेपालले पनि लिएको छ। विगत सरकारले घरघरमा इन्टरनेट, हातहातमा मोबाइलको नारा नै दिएका थिए।
क्षणभरमा भएको विश्वको परिवर्तन हत्केलाबाट हेर्न सकिने आजको युुग साँच्चिकै विज्ञानको वरदान नै हो । तर विज्ञानले जुनरुपमा फड्को मारेको छ, त्यो सँगसँगै कतै विनाश पनि त निम्तिएको छैन ? सोच्नुपर्ने भएको छ । हामीकहाँ बढ्दो बेरोजगारीका कारण काम नपाएको एउटा वर्ग, जो सधैँ सामाजिक सञ्जालमा झुन्डिरहन्छ, त्यसले सञ्जालको दुरुपयोग गर्दै सामाजिक सद्भाव र एकता बिथोल्ने काम गरेको देखिन्छ।
एउटा भनाइ छ, एउटा चिकित्सकको हातमा परेको कैँचीले कसैको ज्यान बचाउन सक्छ भने त्यही कैँची मखन्नीको हातमा थमाइदिँदा कसैको ज्यान जान पनि सक्छ । मुख्य कुरा प्रयोगकर्ताको ज्ञान, सीप र ध्येयमा निर्भर रहन्छ । हामीकहाँ यस्तै अवस्थामा रहेको छ सामाजिक सञ्जाल । सामाजिक सञ्जालभित्र पनि खासगरी फेसबुक, ट्विटर र युट्युब हेरिसाध्य छैन । जसलाई जे मन लाग्यो त्यही लेखेर पोस्ट गर्दै आत्मरति लिनेको ठूलै जमात हामीकहाँ पाइन्छ ।
केही साताअघि विवादास्पद मेडिकल व्यवसायी दुुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा नेपाली ३२ अर्ब रुपियाँ लगानी गरेको कागज सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे। नेपाली राजनीतिमा यसले एकछिन् तरंग नै ल्याइदियो । प्रधानमन्त्री ओलीले आफ्नै पार्टीले आयोजना गरेको एक सार्वजनिक कार्यक्रममार्फत सो कार्यको निन्दा गर्दै नेपालमा असामाजिक गतिविधि बढ्दै गएकोमा चिन्ता प्रकट गरे।
आज पनि कतिपय अवस्थामा प्रसाईंको उक्त पोस्टलाई लिएर प्रधानमन्त्री ओलीमाथि अनुसन्धान हुनुपर्छ भन्ने आवाज उठिरहेको देखिन्छ। यद्यपि उक्त कागजात फेक भएको कुरामा धेरैले विश्वास गरेका छन् । तैपनि एकथरी जमात फेक भन्नलाई पनि अनुसन्धानबाट भन्नुपर्यो भन्दै आएका छन्।
प्रसाईं विद्युुतीय कारोबार ऐन २०६३ विपरीतको कसुर गरेको आरोपमा गत मंसिर ४ मा पक्राउ परी केही समयको प्रहरी हिसासतपछि हाल धरौटीमा रिहा भएका छन्। यसअघि उनले माओवादी अध्यक्ष प्रचण्डसमेतको रकम विदेशमा रहेको अप्रमाणित र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिँदै आएका थिए । देश बिगार्ने ओली, प्रचण्ड र देउवा हुन् भन्दै उनी जनमानसमा भाषण गर्दै हिँड्थे। उनी यसअघि २०८१ असोजमा पनि सोही कसुरमा प्रहरी हिरासतमा बसी ९ दिनपछि एक लाख धरौटीमा रिहा भएका थिए। सामाजिक सञ्जालको चरम दुरुपयोग गर्ने पात्रमध्ये एकजना यिनी पनि हुन् भन्ने तथ्य पटक–पटक सोही अभियोगमा पक्राउ परेको घटनाले पुष्टि गर्दछ ।
प्रधानमन्त्री ओली लक्षित आफूले लगाएको पछिल्लो आरोप महिना दिन पनि टिकेन । उनले आफूले लगाएको आरोप र सार्वजनिक गरेको कागजको पुष्टि गर्न आजपर्यन्त सकेका छैनन् । ह्वाट्सएपमा आएको कागज प्रमाणित नगरी जस्ताको त्यस्तै सार्वजनिक गरेको प्रसाईंको भनाइ छ । अप्रमाणित र असत्य कागजात सार्वजनिक सञ्जालमा पोस्ट गरी कसैको चरित्र हत्या गर्ने काम कतिसम्म जायज छ ? यसको समीक्षा हुुन जरुरी छ। दुर्गा प्रसाईंले यसपटक मात्र होइन, पटक–पटक गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने र जिम्मेवार पदाधिकारीविरुद्ध गलत आरोप लगाउँदै आएका छन्। उनको बोली अनियन्त्रित मात्र होइन, असभ्य र अमर्यादितसमेत थियो । उनले प्रलोभन देखाएर व्यवसायीबाट रकम असुलेको समेत आरोप छ । सीआईबीले उनले अनुचित लाभका लागि गरेको फोन डिटेल फेला परेको समाचार बाहिरिएको छ।
देशको प्रधानमन्त्री, विभिन्न दलका नेतामाथि एउटा व्यक्तिले अप्रमाणित आरोप लगाउने, उत्तेजक अभिव्यक्ति दिँदै हिँड्ने र वित्तीय संस्थाको ऋण तिर्न हुँदैन भनी जनमानस भड्काउने काम कुनै पनि सभ्य समाजका लागि ग्राह्य हुँदैन । यी गतिविधि हेर्दा सामाजिक सञ्जाल भ्रम सिर्जनाकै लागि प्रयोग भएको देखिन्छ । यसकारण पनि अराजकताविरुद्ध कानुनी कारबाही जरुरी थियो र छ पनि ।
आफ्नै विगत उस्तै :
२०४६ सालको राजनीतिक परिवर्तनपछि एकथरी जमात यसरी उफ्र्यो कि मानौँ उसले संसारै पायो । २०४६ को परिवर्तन ऊ आफ्नै कारणले मात्र आएको झैँ गरी फुलेल भयो । ग्रामीण बस्तीको एकथरी जमात अब शहरबजारका आरसीसी घरहरु हाम्रा हुन्छन् भन्न थाल्यो । अर्को थरी जमात कसैले लिएको ऋण तिर्न पर्दैन, नतिर्नू भन्ने उर्दी जारी गर्यो ।
२०४६ को परिवर्तनपछि भएको पहिलो आम निर्वाचनमा यिनै एजेन्डाहरु अनौपचारिक रुपमा अघि सारिए । हो, यिनै एजेन्डा अघि सारी हिँड्नेहरु नै आज प्रत्यक्ष, परोक्ष सत्तामा छन् । मेडिकल व्यवसायी प्रसाईं पनि विगतको त्यही पाठबाट प्रशिक्षित भएका राजनीतिककर्मीसमेत हुन् । तसर्थ आजको यो अवस्था आफैँले रोपेको बिरुवा झाँगिएको मात्र हो । यसकारण जिम्मेवार दल, जिम्मेवार नेतृत्वले सधैँ जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्छ । अनुकूलतामा एउटा र प्रतिकूलतामा अर्को बोली गर्दा आफैँले खनेको खाडलमा आफैँ परिन्छ भन्ने कुराको पनि हेक्का राख्न जरुरी छ ।
यसको प्रभाव सामाजिक सञ्जालमा पनि परेको छ । आम मानिसहरु ऋण तिर्न पर्दैन वा तिर्दैनौं भनी भड्किएका पनि छन् । यसको जिम्मेवारी प्रसाईंलाई बोकाउनुुभन्दा पहिला आफ्नो ऐना सबैले हेर्न जरुरी छ ।
सकारात्मक हुन सिकौं :
सञ्चार आजको युुगको शक्तिशाली माध्यम हो । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले ‘एडासिटी अफ द होप’ नामक पुस्तकमा ‘म त्यो मानिस हँु जस्तो सञ्चारले सम्प्रेषण गर्छ, मैले त्यो गर्छु, सञ्चारले जे गरेको भनिदिन्छ’ भनेका छन् । सम्पत्ति विवरण किन ढाँटेको ? भनी प्रश्न गर्दा टेलिभिजनकर्मी राजु थापाको जागिर खाइदिने नेपालका जस्ता सञ्चारमन्त्रीहरु संसारका अन्य देशमा विरलै पाइन्छन् । सञ्चार सबैको प्रिय विधा नै हो । संसारका कैयौँ मानिसले समाचार र सञ्चारमा आएका खबरकै आधारमा आफ्नो धारणा र दृष्टिकोण बनाएका हुन्छन् ।
आजकल सञ्चारका लागि सामाजिक सञ्जाल निकै लोकप्रिय बनेर आएको छ। सर्वसाधारणदेखि विशिष्ट व्यक्तिहरुसमेत सामाजिक सञ्जालका यी दुुई विधा फेसबुक र ट्विटरमा निकै रमाएको पाइन्छ। सामाजिक सञ्जालमा भारतमा प्रधानमन्त्री मोदीलाई ४० करोड नागरिकले पछ्याउँदै उनको समर्थन तथा प्रभाव वृद्धि गर्न विभिन्न सुझाव दिएको पाइन्छ।
अघिल्लो कार्यकालका अमेरिकाका राष्ट्रपति ट्रम्प यस्ता समर्थन पाउनेहरूको अग्रसूचीमा थिए । हाम्रा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि सामाजिक सञ्जालमा समकालीन नेताभन्दा माथि देखिन्छन् । पछिल्लो समयमा काठमाडौंका मेयर बालेन साह र प्रधानमन्त्री ओलीबीच फेसबुकमा समर्थक बढ्ने र घट्ने प्रतिस्पर्धाले राम्रै स्थान लिएको थियो । यसलाई सामाजिक सञ्जालप्रतिको सकारात्मक दृष्टिकोण मान्न सकिन्छ ।
तर सामाजिक सञ्जाल सधैँ, सबैले असल नियतले नै प्रयोग गरेका छन् भन्न सकिने अवस्था भने छैन । सञ्जालमार्फत व्यक्ति, संस्था र समूहलाई गाली गरेर रमाउनेको जमात बढ्दो छ । हिजोआज सामाजिक सञ्जालमा मन नपरेका विषय, व्यक्ति र समूहलाई गाली गर्ने मात्र होइन, मनोगत कुण्ठा पोख्नेहरूको जमात पनि उत्तिकै सक्रिय छ । खासगरी राजनीतिक हिसाबले बदख्वाइँ गर्ने, व्यक्तिगत आकांक्षा पूरा हुन नसक्दा कसैको चरित्र हत्या गर्ने तथा विभिन्न रुप र स्वरुपमा आकृति बिगार्दै प्रस्तुत गर्ने काम हिजोआज बढी मात्रामा हुने गरेको पाइन्छ । कतिले सञ्जालमार्फत तनाव नै दिएर आत्महत्यासम्म गर्न पुर्याएका घटनाहरु पनि हामीकहाँ देख्न, सुन्न सकिन्छ । यो निर्लज्जताको पराकाष्ठा हो ।
नियमनमा कडाइ :
नेपालमा फेसबुक र ट्विटरकै माध्यमबाट मानिसहरूले मनमा लागेको कुरालाई अभिव्यक्त गर्छन् र त्यसको परिणाम खोज्छन् । सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको पहुँच विस्तार भएको छ । ‘घरघरमा इन्टरनेट, हातहातमा मोबाइल’ तत्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महराले अघि सारेको सञ्चार नीति थियो । दुुर्भाग्य, हिजो तिनै महराले सामाजिक सञ्जालमा व्यापक विरोध र आलोचना सहनुपर्यो । न्यायालयको क्षेत्राधिकारभित्र प्रवेश गरिसकेको विषयलाई न्यायालयले दिने अन्तिम फैसला नआउँदासम्म क्रिया–प्रतिक्रिया दिनु अदालतकै मानहानी हो भन्ने सामान्य कुरा पनि हाम्रा सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले बुुझ्न सकेका थिएनन् ।
सामाजिक सञ्जालमा सहज पहुँचका कारण आम मानिस यसमा अभ्यस्त भइसकेका छन् । यो सकारात्मक पक्ष हो । तर यसको गलत प्रयोग र यसैलाई अभिष्ट पूर्तिको साधन बनाउँदा समस्या आएको छ । यसलाई नियमन गरेर बेलैमा नरोक्ने हो भने थप विकृति र विसंगति आउन सक्छ । यसतर्फ नियामक निकायको ध्यानाकर्षण बेलैमा हुन जरुरी छ ।
कतिले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई जुत्ता पोलिस गर्दैै गरेको चित्र पोस्ट गरेको पनि देखियो । मधेसवादी दलका नेताका हकमा पनि राट्रवाद विरोधी क्रियाकलाप झल्किने गरी सामग्रीसहित आकृति पोस्ट गरिएको पाइन्छ । कतिपय पोस्ट त घरका परिवारसँगै बसेर हेर्नै नसक्ने खालका पनि पाइन्छन् ।
यी कुनै पनि क्रियाकलाप उपयुक्त छैनन् । यसले गर्दा हामीले कसलाई फाइदा गराउन खोजेका छौँ ? हाम्रा नेताको चरित्र हत्या गराएर हामीले के विकल्प दिन खोजेका हौँ ? राजनीतिको विकल्प राजनीति नै हो । दलको विकल्प अझै राम्रो दल हो । नेताको विकल्प नेतै हो । यसर्थ सुधारात्मक टिप्पणी दिन सकिएला तर नङ्ग्याउने प्रयास सबैतर्फ हानिकारक छ ।
अझ चरित्र हत्या गर्नेजस्ता निकृष्ट काम त निन्दनीय नै ठहर्छ । यस्ता सञ्जालमा प्रस्तुत हुने कतिपय सामग्रीले व्यक्तिको भावनामा चोट पुगेको हुन्छ । संघसंस्थाको छविमा आँच पुर्याउने काम पनि गरिरहेको हुन्छ । यी सबै गतिविधिले हाम्रो समाज मात्र होइन, होनहार युवा पुस्तासमेत प्रभावित हुन्छन् । यसकारण सामाजिक सञ्जालको गलत प्रयोग गर्नेलाई कानुुनको दायरामा ल्याई समय सन्दर्भअनुसार नवीनतम ज्ञान, सीप र पेसा व्यवसायका लागि यसको अधिकतम उपयोग भने गर्नै पर्छ ।